सुरुङ्गा खबर, सप्तरी। लहान, नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको आन्दोलन कार्यक्रम अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. १ स्थित श्री पशुपति आदर्श माध्यमिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूले कालोपटी बाँधेर आन्दोलित कार्यक्रमको दोस्रो दिन पनि नियमित कामकाज गर्दै विरोध प्रदर्शन गरेका छन्।
विद्यालय कर्मचारीहरूले आफ्ना पेशागत अधिकार, सेवा सुविधामा सुधार, र विद्यालय कर्मचारीलाई राज्यद्वारा मान्यता प्राप्त गरिनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले कालोपटी बाँधेर शान्तिपूर्ण तरिकाले कार्यालयीय कामकाजलाई निरन्तरता दिँदै आक्रोश व्यक्त गरेका छन्।
नेपाल विद्यालय कर्मचारी परिषदले राष्ट्रव्यापी रुपमा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै सरकारसँग पटक–पटक छलफलको माग राख्दै आएको छ। परिषदले भनेको छ, “यदि सम्बन्धित निकायले यथाशीघ्र माग सम्बोधन नगरेमा आन्दोलन थप सशक्त बनाइनेछ।”
श्री पशुपति आदर्श माविमा कार्यरत कर्मचारीहरूले भने, उनीहरूको आन्दोलन विद्यार्थीको पढाइमा असर नपर्ने गरी सचेत रूपमा अगाडि बढाइएको जनाएका छन।