समूह व्यवस्थापन तथा आँप खेतीसम्बन्धी एकदिने तालिम सम्पन्न

0 Shares

सुरुङ्गा सम्बाददाता, असोज २९

सप्तरी। आरआरएन र डिजीएम नेपालको सहयोग तथा जन चेतना दलित संगमको आयोजनामा सप्तरी जिल्लाको तिरहुत गाउँपालिका–५, लोहजरास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा समूह व्यवस्थापन तथा आँप खेतीसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।

ठाकुर बाबा सामुदायिक वन उपभोक्ता समूहले आँप खेती तथा अचार उत्पादन गर्ने उद्देश्यले लक्ष्मी हरवा चरवा कृषक समूहलाई १० वर्षका लागि सामुदायिक वनको जग्गा उपलब्ध गराएको छ। सोही जग्गामा व्यावसायिक आँप खेती तथा आयआर्जनका गतिविधि सञ्चालन गरिरहेका हरवा चरवा कृषक समूहका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिमको मुख्य उद्देश्य समूहका सदस्यहरूलाई समूह व्यवस्थापन, आर्थिक पारदर्शिता, बचत तथा लेखा प्रणाली, घुम्तीकोष परिचालन र व्यावसायिक आँप खेतीसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्नु रहेको जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र रामले जानकारी दिनुभयो। तालिममा आँपका विभिन्न जात, बिरुवा रोपण, मलखाद व्यवस्थापन, सिँचाइ, गोडमेल, काँटछाँट तथा रोगकीरा नियन्त्रणका उपायबारे प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा सवडिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख तथा वन अधिकृत सन्तोष कुमार यादवले सामुदायिक वनसम्बन्धी ऐन, कानुन तथा वन उपभोक्ता समूहको अधिकार र जिम्मेवारीबारे जानकारी गराउनुभयो। उहाँले हरवा चरवा तथा दलित समुदायका सदस्यहरूले सामुदायिक वनको तीन बिघा क्षेत्रमा घेराबेरा गरी आँप खेती सुरु गरेको कार्यको प्रशंसा गर्दै यसलाई जीविकोपार्जन र आर्थिक आत्मनिर्भरताको सकारात्मक प्रयासका रूपमा लिनुभयो। उहाँले आँप खेतीसँगै खाली जग्गामा अदुवा, बेसार तथा अन्य जडीबुटी खेतीसमेत गर्न सके आम्दानी बढाउन सकिने सुझाव दिनुभयो।

कृषि प्राविधिक तथा कार्यक्रम संयोजक चाँदनी बेगमले आँपका विभिन्न जात, खेती गर्नुअघिको तयारी, बिरुवा रोप्ने तरिका, मलखाद तथा सिँचाइ व्यवस्थापन, गोडमेल र रोगकीरा नियन्त्रणका उपायबारे सहजीकरण गर्नुभयो। त्यसैगरी, पत्रकार तथा प्रशिक्षक मणिलाल विश्वकर्मा र कार्यकारी निर्देशक इन्द्र रामले संयुक्त रूपमा समूह व्यवस्थापन, घुम्तीकोषको परिचालन, समूहभित्र उत्पन्न हुने विवादको व्यवस्थापन, बचत, खातापाता सञ्चालन तथा आर्थिक कारोबारमा पारदर्शिता कायम गर्ने विषयमा प्रशिक्षण दिनुभयो।

कार्यक्रमको उद्घाटन सत्र जन चेतना दलित संगमका कोषाध्यक्ष बेचनी सदा मुसहरनीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सवडिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सन्तोष कुमार यादव, फरेस्टर अजय कुमार चौधरी, ठाकुर बाबा सामुदायिक वन उपभोक्ता समूह लोहजराका अध्यक्ष सुरेश कुमार यादव, लक्ष्मी कृषक समूहकी अध्यक्ष रामसती देवी, जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र राम तथा कार्यक्रम संयोजक चाँदनी बेगमको उपस्थिति रहेको थियो।

तालिममा कृषक समूहका सदस्य तथा सरोकारवालासहित कुल ४० जनाको सहभागिता रहेको थियो। तालिमबाट हरवा चरवा कृषक समूहका सदस्यहरूमा समूहलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने, आर्थिक कारोबार पारदर्शी बनाउने तथा व्यावसायिक आँप खेतीमार्फत आयआर्जन वृद्धि गर्ने ज्ञान र सीप विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै