शियाराम यादव ,असोज-१३
सिरहाको लहान नगरपालिका–२३ स्थित जनता माध्यमिक विद्यालय, सोनमती गाढामा लामो समयदेखिको असमझदारी अन्त्य गर्दै विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) सर्वसम्मत रूपमा गठन भएको छ।
नगर शिक्षा प्रमुख अमिरीकुमार यादवको रोहबरमा गठित समितिमा मो. सम्साद मियाँ, विनोदकुमार सहनी, बविता कुमारी ठाकुर र सरोजकुमारी महतो अभिभावक प्रतिनिधिका रूपमा चयन भएका छन्। चार सदस्यमा दुई महिला र दुई पुरुष रहेका छन्।
समिति गठनमा लहान–१९ का वडा अध्यक्ष कम्लुदिन राइन, लहान–२३ का वडा सदस्य शत्रुधन यादव, जनप्रतिनिधि, अभिभावक तथा अन्य सरोकारवालाले सहजीकरण गरेका थिए।
लामो समयदेखि रहेको मतभेद अन्त्य गरी समिति सर्वसम्मत गठन भएपछि विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधारका लागि सकारात्मक वातावरण बनेको स्थानीयको भनाइ छ। नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार तथा समग्र व्यवस्थापन सुधारलाई प्राथमिकता दिनुपर्ने अपेक्षा गरिएको छ।