खडक नगरपालिका वडा नं. १ बालश्रम मुक्त वडा घोषणा

0 Shares

सुरुङ्गा सम्बाददाता कल्याणपुर, जेठ १६

सप्तरीको खडक नगरपालिका वडा नं. १ लाई शनिबार एक कार्यक्रमका बीच बालश्रम मुक्त वडा घोषणा गरिएको छ। वडा बालमैत्री समिति वडा नं. १ को आयोजनामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष राजकुमार शाहको सभाध्यक्षता, खडक नगरपालिकाका प्रशासन शाखा प्रमुख रामाकान्त चौधरीको प्रमुख आतिथ्यता तथा बालकल्याण अधिकारी अनिता कुमारी शाहको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रम सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोग तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, खडक नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले बालश्रम अन्त्य गरी बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षण सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताए। सभाध्यक्ष शाहले बालश्रममुक्त वडा घोषणा केवल औपचारिकता नभई यसलाई व्यवहारमा कार्यान्वयन गर्न समुदाय, अभिभावक र सरोकारवाला निकायको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे। विशिष्ट अतिथि शाहले बालअधिकार संरक्षण तथा बालमैत्री वातावरण निर्माणका लागि निरन्तर सचेतना र सहकार्य आवश्यक रहेको बताइन्।

नगर बाल क्लब सञ्जालका अध्यक्ष शिव शंकर मण्डलले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सहकारीकर्मी, विद्यालयका प्रतिनिधि, युवा तथा बाल क्लबका पदाधिकारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले बालश्रम अन्त्य, बालअधिकार संरक्षण तथा बालमैत्री समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

सम्बन्धित समाचार

सबै