सुरुङ्गा सम्बाददाता, कडरबोना १० जेठ
सप्तरीको सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरमा एक १४ वर्षीया बालिकामाथि घरेलु श्रमका नाममा चरम यौन शोषण र जबर्जस्ती गर्भपतन गराइएको सनसनीपूर्ण घटना बाहिर आएको छ। पीडित बालिकाको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीले स्थानीय वडा कार्यालयमा मुखिया पदमा कार्यरत ४३ वर्षीया रिता कुमारी यादवलाई बुधबार राजविराजबाट पक्राउ गरेको छ।
विपन्नता र अनाथ हुनुको फाइदा उठाइयो
सानै उमेरमा मातापिता गुमाएकी ती बालिका आर्थिक अभावका कारण विगत आठ वर्षदेखि स्थानीय महेश्वर यादव र उनकी श्रीमती रिता यादवको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन्। सोही क्रममा बालिकामाथि निरन्तर यौन शोषण भएको र उनी गर्भवती भएपछि घटना दबाउन योजनाबद्ध रूपमा गर्भपतन गराइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
अपराध लुकाउने प्रयास र जनप्रतिनिधिको संलग्नता
गत चैत ३ गते गाउँमा घटनाबारे चर्चा चलेपछि मुख्य आरोपी महेश्वर यादवले पीडित बालिकाका दुई दिदीहरूलाई विभिन्न प्रलोभनमा पारेर बालिकासहित अन्यत्रै बेपत्ता पारेका थिए। घटनाको करिब एक सातापछि उनीहरू प्रहरीको सम्पर्कमा आएपछि मात्रै वास्तविक तथ्य बाहिर आएको हो।
घटनामा समाजका जिम्मेवार व्यक्तिहरूको समेत संलग्नता पुष्टि भएको छ। फरार सूचीमा सोही वडाका वडा सदस्य बद्री यादव र स्थानीय धर्मेन्द्र यादव लगायतका व्यक्तिहरू रहेका छन्। उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।
६ दिनको म्याद थप, निष्पक्ष अनुसन्धानको माग
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीका अनुसार पक्राउ परेकी रिता यादवमाथि सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी जबर्जस्ती करणी तथा गर्भपतन कसुर मुद्दामा अनुसन्धान भइरहेको छ।
यसैबीच, अनाथ र दलित समुदायकी बालिकामाथि भएको यो जघन्य अपराधको विरुद्धमा स्थानीय अधिकारकर्मी तथा दलित अभियन्ताहरू आन्दोलित भएका छन्। उनीहरूले बालश्रम, जातीय विभेद र यौन हिंसाको यो भयावह रूपलाई गम्भीरतापूर्वक लिँदै पहुँचवाला अपराधीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन्।