सुरुङ्गा सम्बाददाता, कडरबोना
सप्तरीको सुरूगां नगरपालिका वडा नं. २ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । “बालमैत्री स्थानीय शासन पद्धति र व्यवहार, समृद्ध सुरूगांको आधार” भन्ने नारासहित शुक्रबार आयोजित विशेष कार्यक्रममा नगरप्रमुख गीता चौधरी ले घोषणा पत्र वाचन गर्दै वडालाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरेकी हुन् ।

बालमैत्री स्थानीय शासन वडा समिति तथा सुरूगां नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वडा नं. २ ले सरकारले निर्धारण गरेका सबै आवश्यक सूचक पूरा गरेपछि उक्त उपलब्धि हासिल गरेको जानकारी दिइयो ।
वडा अध्यक्ष अर्जुन राज खपांगी का अनुसार बालअधिकार संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ, सुरक्षा तथा बाल सहभागितासम्बन्धी मापदण्डहरू प्रभावकारी रूपमा कार्यान्वयन भएपछि वडा बालमैत्री घोषणा गर्न सम्भव भएको हो ।
वडामा बालमैत्री स्थानीय शासन समिति गठन, बालमैत्री योजना तथा बजेट व्यवस्था, बालअधिकारसम्बन्धी नीति कार्यान्वयन तथा बाल क्लबलाई सक्रिय बनाउने काम गरिएको जनाइएको छ । साथै पाँच वर्षमुनिका सबै बालबालिकाको जन्मदर्ता सुनिश्चित गर्नुका साथै स्वास्थ्य तथा पोषण कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिइयो । सबै बालबालिकालाई पूर्ण खोप सेवा उपलब्ध गराइएको तथा गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य सेवामा समेत विशेष ध्यान दिइएको बताइएको छ ।

शिक्षा क्षेत्रमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय पहुँचमा ल्याइएको, विद्यालय छोड्ने दर घटाइएको तथा विद्यालयमा बालमैत्री वातावरण निर्माण गरिएको जनाइएको छ । विद्यालयहरूमा शौचालय, स्वच्छ खानेपानी र हात धुने व्यवस्थालाई समेत व्यवस्थित बनाइएको वडा कार्यालयले जनाएको छ ।
बाल संरक्षणअन्तर्गत बालविवाह, बालश्रम तथा हिंसा न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ । जोखिममा परेका बालबालिकाको संरक्षणका लागि आवश्यक संयन्त्र सक्रिय बनाइएको जानकारी दिइएको छ ।
त्यसैगरी, बाल सहभागिता अभिवृद्धिका लागि बाल क्लब तथा बाल सञ्जाललाई सक्रिय बनाइएको र वडा तहको योजना तथा निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता सुनिश्चित गरिएको जनाइएको छ ।
कार्यक्रममा उपनगरप्रमुख रूद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास लगायत जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।