सुरुङ्गा सम्बाददाता,कडरबोना
सप्तरीको सुरुङ्गा–८ स्थित श्री मा.वि. मलहनमाले आफ्नो पहिलो एसईई ब्याचबाटै उल्लेखनीय सफलता हासिल गरेको छ । विद्यालयले ८६.६७ प्रतिशत नतिजा ल्याउँदै सुरुङ्गा नगरपालिकाभित्र दोस्रो स्थान हासिल गरेपछि शुक्रबार विशेष सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालक दास चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि गीता चौधरीले सीमित स्रोतसाधन र शिक्षक अभावका बीच विद्यालयले प्राप्त गरेको उपलब्धिलाई प्रेरणादायी भएको बताइन् । उनले सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्छ भन्ने उदाहरण मलहनमाले प्रस्तुत गरेको उल्लेख गरिन् ।

नगरप्रमुख चौधरीले विद्यालय परिवार र विद्यार्थीहरुलाई बधाई दिँदै शिक्षा क्षेत्रको विकासमा नगरपालिका सधैं सहकार्य गर्न तयार रहेको बताइन् । त्यसैगरी वडा अध्यक्ष श्याम प्रसाद साहले न्यून जनशक्तिमा पनि विद्यालयले उत्कृष्ट नतिजा निकाल्नु चुनौतीमाथिको सफलता भएको धारणा राखे ।
नगर प्रवक्ता शिव दर्शन पासवानले श्रमिक तथा दलित समुदायका विद्यार्थीको सफलताले समाजमा सकारात्मक सन्देश दिएको बताए । उनले सामुदायिक विद्यालयप्रति विश्वास बढाउन यो नतिजाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालक दास चौधरीले पहिलो ब्याचबाटै विद्यालयले उत्कृष्ट पहिचान बनाउन सफल भएको भन्दै यसको श्रेय शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक मेहनतलाई दिए । प्रधानाध्यापक राम कुमार महराले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयलाई थप उत्कृष्ट बनाइने प्रतिबद्धता व्यक्त गरे ।
यस वर्ष सुरुङ्गा नगरपालिकामा श्री जनता मा.वि. शिशुवरी ८७.१४ प्रतिशत नतिजासहित पहिलो बनेको छ भने श्री मा.वि. मलहनमा ८६.६७ प्रतिशतसहित दोस्रो स्थानमा रहेको विद्यालयले जनाएको छ ।