सप्तकोशीमा हरवा चरवा संजालको बैठक सम्पन्न, न्यूनतम ज्याला र सुरक्षित आवासका सवालमा ज्ञापन पत्र पेश ।

0 Shares

सुरुङ्गा सम्वाददाता , जेठ ५  सप्तकोशी।

द फ्रिडम फण्डको सहयोगमा जन चेतना दलित संगमद्वारा सञ्चालित हरवा चरवा सशक्तीकरण कार्यक्रम अन्तर्गत सप्तकोशी नगरपालिका वडा नं. ४ बलारदहमा हरवा चरवा नगरस्तरीय संजालको बैठक सम्पन्न भएको छ।
हरवा चरवा समुदायलाई संगठित तथा परिचालित गर्दै श्रम अधिकार, स्वतन्त्र रूपमा काम छनोट गर्ने अधिकार, न्यूनतम तथा समान ज्यालासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैठक आयोजना गरिएको जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र रामले जानकारी दिनुभयो। उहाँका अनुसार नियमित मासिक बैठक तथा छलफलमार्फत बेतलबी काम, जबरजस्ती श्रम, विभेद तथा सजाय विरुद्ध सामूहिक आवाज उठाउन समुदायलाई सशक्त, सचेत र संगठित बनाउने लक्ष्य राखिएको छ।
बैठकले हरवा चरवा नगरस्तरीय संजाल पुनर्गठन गर्दै अध्यक्षमा प्रमिला देवी सदा, उपाध्यक्षमा फुलकुमारी सदा, सचिवमा निर्मला देवी सदा तथा कोषाध्यक्षमा प्रमिला सदा चयन गरेको छ। साथै १५ सदस्यीय संजाल गठन गरिएको जनाएको छ।
संजालकी अध्यक्ष प्रमिला देवी सदाले सप्तकोशी नगरपालिका भित्रका ११ वटै वडा स्तरीय हरवा चरवा समूहहरूसँग छलफल गरी नेपाल सरकारले तोकेको न्यूनतम ज्याला नपाएको विषय उठान गरिएको बताउनुभयो। उहाँले न्यूनतम ज्याला प्राप्तिका लागि आगामी दिनमा ज्याला वृद्धि अभियान सञ्चालन गर्ने निर्णय समेत गरिएको जानकारी दिनुभयो।
बैठकको अन्त्यमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटमा मुक्त हरवा चरवाका सवाल समेट्न माग गर्दै ६ बुँदे ज्ञापन पत्र सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकाललाई बुझाइएको छ। ज्ञापन पत्रमा स्थानीय तहको समन्वयमा हरवा चरवाको तथ्यांक संकलन, प्रमाणीकरण तथा परिचय पत्र वितरणका लागि कार्यविधि पारित गर्नुपर्ने, पुनर्स्थापना तथा कार्यविधि कार्यान्वयनका लागि बजेट विनियोजन गर्नुपर्ने, विकास निर्माण तथा सडक विस्तारका नाममा भइरहेको बस्ती विस्थापन तत्काल रोक्नुपर्ने लगायतका माग समावेश गरिएको छ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख ढकालले हरवा चरवा समुदायका मागहरू कार्यपालिका बैठकमा लैजाने तथा आवश्यक निर्णय प्रक्रियामा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले हालसम्म २९ जना हरवा चरवा परिवारलाई जग्गासहित घर हस्तान्तरण गरिसकिएको जानकारी दिँदै बाँकी भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्थापन नहुँदासम्म विस्थापन हुन नदिने प्रतिबद्धता समेत जनाउनुभयो।
प्रमिला देवी सदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्तकोशी नगरपालिकाका १० वटै वडाका वडा समिति पदाधिकारी, कार्यपालिका सदस्य राजेन्द्र विश्वकर्मा, जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र राम लगायत ३२ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रेमकुमार विश्वकर्माले गर्नुभएको थियो।

सम्बन्धित समाचार

सबै