खाडीमा कार्यरत बुहारीको सासू–ससुरालाई खुला पत्र

0 Shares

 

आदरणीय बुवा–आमा,

नमस्कार।

रियाद साउदी अरब। म यहाँ साउदी अरबबाट तपाईंहरूलाई सम्झँदै यो चिठी लेखिरहेकी छु। म राम्रै छु, तपाईंहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशा गरेकी छु। टाढा भए पनि मन सधैं घरपरिवारसँगै हुन्छ। त्यसैले आउँदै गरेको चुनावको बेला केही मनका कुरा तपाईंहरूसामु राख्न मन लाग्यो।

 

बुवा–आमा, तपाईंहरूले जीवनभर भोट हाल्न सुरु गरेदेखि नै नेपाली कांग्रेस लाई विश्वास गरेर मतदान गर्दै आउनुभएको छ। तर आज हाम्रो आफ्नै परिवारको अवस्थालाई सम्झँदा मनमा धेरै प्रश्नहरू उठ्छन्। तपाईंहरूका आफ्नै छोरा २००६ सालमा मलेसियामा कामकै क्रममा ज्यान गुमाउनुपर्‍यो। त्यसपछि म, तपाईंहरूको बुहारी, २००७ सालदेखि परदेशिन बाध्य भएँ र आजसम्म विदेशमै आफ्नो जीवन बिताइरहेकी छु। समय यति बितिसक्यो कि अहिले त नातिले पनि तीन वर्षदेखि परदेशको यात्रा सुरु गरिसकेको छ।

 

जवान छोरा परदेशमै गुमाउनु, बुहारीको जीवन पनि परदेशमै बित्नु र बृद्ध अवस्थामा पुगेका बुवा–आमाले नाति–नातिनाको साथसमेत नपाउनु—यी सबै पीडाले कहिलेकाहीँ मन निकै भारी बनाउँछ। त्यसैले मनमा प्रश्न उठ्छ, वर्षौंदेखि हालिएको भोटले हाम्रो जस्तो परिवारको जीवनमा के परिवर्तन ल्यायो?

 

मेरा प्यारा छोराहरू, तिमीहरू सानै हुँदा परदेशका खाडी मुलुकमा तिम्रो बाबाले ज्यान गुमाउनुपर्‍यो। तिम्री आमाले पनि २२–२३ वर्षको उमेरदेखि आजसम्म परदेशमै आफ्नो जीवन बिताइरहेकी छ। यदि देशले योग्य र जिम्मेवार नेतृत्व पाएको भए सायद तिमीहरूले बाबुआमाको काख र साथ पाउन सक्थ्यौ होला। तर विडम्बना, देशले राम्रो अभिभावक पाउन सकेन, त्यसैले हजुरबुवा–आमाले सन्तानको साथ पाएनन् र तिमीहरूले पनि आफ्ना अभिभावकको माया पूर्ण रूपमा अनुभव गर्न सकेनौ। अझ दुःखको कुरा, ७०–८० वर्षको बृद्ध अवस्थामा पनि बुवा–आमाले छोरा–बुहारी त परको कुरा, नातिको साथसमेत पाउन सकेनन्।

 

बुवा–आमा, अब फेरि चुनाव आउँदैछ। त्यसैले म परदेशबाट यति मात्र आग्रह गर्न चाहन्छु—यदि हामीले भोटको निर्णय परिवर्तन नगर्ने हो भने परिवर्तन कहिले आउने? यदि देशले सही नेतृत्व पाएको भए सायद हामीजस्ता हजारौं परिवारले सन्तानको काख र साथ नपाई परदेशमा छटपटिँदै जीवन बिताउनुपर्ने थिएन।

 

आजसम्म नेपाल कसको भयो भन्ने प्रश्न उठ्छ—ठूला नेता र तिनका आसेपासेहरूको, कि हामीजस्ता सामान्य नागरिकहरूको? हामीजस्ता लाखौं नेपाली भने ५०–६० डिग्रीको घाम र गर्मी सहेर खाडी मुलुकमा पसिना बगाउँदै परिवार पाल्न बाध्य छौं। त्यसैले अब बेलैमा सही मानिस चिन्ने र देशका लागि योग्य नेतृत्व चयन गर्ने जिम्मेवारी हाम्रो सबैको हो।

 

हाम्रो जीवन त जसोतसो परदेशमै बित्दैछ, तर अब नाति–पलाँतीको पुस्ताले पनि यही पीडा भोग्न नपरोस् भन्ने चाहना छ। त्यसैले आउँदै गरेको चुनावमा एकपटक मन खोलेर सोच्नुहोस्—हाम्रो मात्र होइन, भावी पुस्ताको भविष्यका लागि पनि सही निर्णय गर्नुपर्छ।

 

बाँकी कुरा तपाईंहरूले आफैं बुझ्नुहुनेछ भन्ने विश्वास छ।

टाढा भए पनि तपाईंहरूको माया र आशीर्वाद सधैं साथ छ।

 

मायासहित,

तपाईंहरूको बुहारी

प्रनिशा रिमाल

सम्बन्धित समाचार

सबै