गुभानजु अन्जान, जनवरी ४
दम्माम, साउदी अरब । नेपाली लोकसंगीत क्षेत्रमा आफ्नै पहिचान बनाएकी चर्चित राष्ट्रिय लोक गायिका तुलसी छेत्री दम्माम आउने भएकी छन्। नेपाली साझा मञ्च, राष्ट्रिय समन्वय समिति साउदी अरबको आयोजनामा हुने १०औँ वार्षिकोत्सव तथा ४औँ अधिवेशनको अवसरमा उनी विशेष सांगीतिक प्रस्तुति लिएर दर्शकमाझ उत्रनेछिन्।
लोक भाकाको संरक्षण र प्रवर्द्धनमा सक्रिय छेत्रीले “माइतीघर, रेलिमाई, लाहुरे दाइ, पिरतीको डोरी” जस्ता लोकप्रिय लोकगीतमार्फत नेपाली श्रोता–दर्शकमाझ गहिरो छाप छोडेकी छन्। उनका गीतमा ग्रामीण जीवन, माया–प्रेम, पीडा र नेपाली समाजको यथार्थ जीवन्त रूपमा झल्किन्छ।
नववर्ष २०२६ को शुभकामना आदान–प्रदानसहित आयोजना हुने यस भव्य सांस्कृतिक कार्यक्रममा गायक रोम लामा तथा प्रतिभाशाली स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ। कार्यक्रम शुक्रबार, ९ जनवरी २०२६ का दिन बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म दम्मामस्थित रोज गार्डेन होटलमा आयोजना हुनेछ।
आयोजकले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई कार्यक्रमलाई भव्य, सफल र स्मरणीय बनाउन आग्रह गरेको छ।