सुरुङ्गा खबर,परासी पुस २० । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले माटो निकासीसम्बन्धी कार्य रोक्का तथा अनुमति सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।
पाल्हीनन्दनकाे वडा नम्बर ६ साविक सुनई गाविस अन्तर्गत पर्ने केही जग्गाबाट माटो निकाल्ने विषयमा यसअघि अनुमति दिइए पनि सम्बन्धित निकायको पत्राचारका आधारमा हाल उक्त कार्य रोक्का गरिएको छ ।
देवेन्द्र सिंह शैथवारको नाममा दर्ता रहेको साविक सनई गाविस वडा नम्बर ९ ख र २५७ कित्ता नम्बरको जग्गाबाट माटो निकासी गरी बिक्री–वितरण गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौँको पत्रअनुसार अनुसन्धान प्रक्रिया चलिरहेकाले अर्को आदेश नभएसम्म माटो निकासी कार्य रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गाैँडले जानकारी दिनुभयो ।
यस्तै,गाउँपालिका वडा नम्बर ६ अन्तर्गतका केही जग्गाबाट सीमित समयका लागि माटो ढुवानी गर्न सर्तसहित केही समय पहिला अनुमति समेत दिएकाे थियाे । अनुमति पाएका सवारीसाधन र तोकिएको अवधिभित्र मात्रै माटो ढुवानी गर्न पाइने जनाएकाे थियाे ।
गाउँपालिकाले सम्बन्धित वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा रगरगंज प्रहरी चौकीलाई समेत आवश्यक निगरानी र कार्यान्वयन गर्न पत्राचार गरिएकाे थियाे ।
यता खोलानजिकको विवादित जग्गाबाट भइरहेको माटो उत्खनन् तथा बिक्री कार्य तत्काल रोक्न स्थानीयले माग गरेका छन् । अधिकारको दुरुपयोग गर्दै गाउँपालिका र वडा कार्यालयको मिलेमतोमा माटो बिक्री भइरहेको आरोप स्थानीयवासीले लगाएका छन्।
स्थानीयका अनुसार खोलानजिकैको उक्त जग्गाबाट माटो उत्खनन् गर्दा बाढी तथा पहिरोको जोखिम बढेको छ, जसका कारण किसानहरूको खेतबालीमा थप क्षति हुने सम्भावना देखिएको छ। यसअघि पनि वर्षायाममा बाढीका कारण सो क्षेत्रका किसानहरू प्रभावित हुँदै आएका थिए।
स्थानीय सरोकारवालाहरूले प्राकृतिक स्रोतको दोहनले वातावरणीय सन्तुलन बिग्रने र कृषिमा दीर्घकालीन नकारात्मक असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यस्ता गतिविधि यथाशीघ्र बन्द गरी कानुनी छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यस विषयमा स्थानीय जनसमुदाय, सरोकारवाला निकाय तथा पत्रकारहरूलाई जानकारी गराइसकिएको बताइएको छ। सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीयले आग्रह गरेका छन् ।