बिष्णु राम, वीरगञ्ज, ५ पुस
सुरुङ्गा खबर। अहमदिया संघ नेपालले शनिबार पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठा स्थित मसरुर माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको उक्त शिविरमा आँखाको विशेष परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण र मोतिबिन्दुको निःशुल्क शल्यक्रिया सेवासमेत उपलब्ध गराइएको थियो।
अहमदिया संघ नेपालको आयोजनामा तथा नेपाल नेत्र ज्योति संघ अन्तर्गतको केडिया आँखा अस्पतालको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। अहमदिया संघ नेपाल एक मुस्लिम धार्मिक संस्था हो।
“सबैलाई प्रेम गरौं, कसैलाई घृणा नगरौं” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै संघले आम नेपाली जनताको सेवा गर्नु, सामाजिक, सांस्कृतिक तथा आत्मीय समझदारी अभिवृद्धि गर्नुका साथै शिक्षा र स्वास्थ्यसम्बन्धी सचेतना फैलाउँदै सभ्य र समृद्ध समाज निर्माण गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको आयोजक सदस्य तथा बारा–पर्सा इन्चार्ज हासिम अहमदले जानकारी दिए।
उनका अनुसार संघले स्थापना कालदेखि नै वृद्धवृद्धा, बालबालिका, भूकम्प तथा बाढीपीडित, साथै कोरोना महामारीजस्ता कठिन परिस्थितिमा निरन्तर मानवताका आधारमा सहयोग गर्दै आएको छ।
अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष कमरुल होदा अन्सारीको सभापतित्व तथा बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको थियो। शिविरबाट करिब ४७६ जना लाभान्वित भएका छन्।
जसमध्ये १८० जनामा मोतिबिन्दु देखिएको र उनीहरूको भोलिदेखि निःशुल्क शल्यक्रिया गरिने जानकारी दिइएको छ। शिविरमा केडिया आँखा अस्पतालका प्राविधिक डा. रासदेव साह, फिजिसियन डा. शिवशंकर, डा. अनिल कुमार साहसहितको स्वास्थ्य टोली सहभागी थियो।
त्यसैगरी अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमद तथा सदस्यहरू रहमतुल्लाह अहमद, शेख इस्माइल, अलिक अहमद, सजाउ हुसेन, हेल्थ असिस्टेन्ट अलताफ हुसेनलगायतको सक्रिय सहभागिता रहेको थियो।
आर्थिक तथा शारीरिक रूपमा कमजोर रहेका वृद्धवृद्धाहरूले घर नजिकै उपचार सेवा पाउँदा अत्यन्तै खुशी व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार प्रकट गरेका थिए।