दसैंपछि रोहिणी–७ को सार्वजनिक जग्गा खाली गर्नुपर्ने: मेयर यादव

0 Shares

सुरुङ्गा सम्बाददाता

सुरुङ्गा खबर, सप्तरी। बुटवल, रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका–७ मनोहरापुरस्थित करिब ४ बिघा १६ कठ्ठा सार्वजनिक जग्गा अनधिकृत रूपमा व्यक्तिहरूले कब्जा गरी घर निर्माण र व्यक्तिगत खेतीपाती गर्दै आएको उजुरी परेको छ। उक्त जग्गा दसैंपछि खाली गर्नुपर्ने आदेश गाउँपालिकाका मेयर बिध्या यादवले दिएका छन्।

असोज ५ गते आइतबार सार्वजनिक जग्गा संरक्षण समितिका पदाधिकारीहरूसँगको भेटमा मेयर यादवले पालिकाभित्रका सबै सार्वजनिक जग्गा संरक्षण गर्ने जिम्मा स्थानीय सरकारको रहेको र संघीय सरकारले पनि त्यस्तो निर्देशन दिएको उल्लेख गर्दै आफू सोही अनुसार अघि बढ्ने बताए।

यसै भेटमा समाजसेवी रबिन्द्र प्रसाद यादव र चमार कल्याण समाज नेपालका प्रदेश प्रतिनिधिहरूसँग मेयर यादवले सो क्षेत्रलाई दीर्घकालीन रूपमा उपयोग गर्न बुद्ध पार्क निर्माण गर्न पालिका तयार रहेको जानकारी गराएका छन्।

 

समाजसेवी यादवका अनुसार मनोहरापुरको सीमाक्षेत्रमा बुद्ध पार्क बने देशलाई चिनाउन सकिनेछ, स्थानीयलाई रोजगारीका अवसर सिर्जना हुनेछ, सरसफाइ र शान्ति सुरक्षामा सहजता आउनेछ। साथै निर्माणाधीन रामजानकी र हनुमान प्रतिमाको संरक्षण र विस्तार समेत हुने उनको भनाइ छ।

 

यसअघि सार्वजनिक जग्गा संरक्षण तथा बुद्ध पार्क निर्माणको मागसहित चमार कल्याण समाज नेपाल लुम्बिनी प्रदेश समिति मार्फत करिब ३०० जनाको हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालय, भूमि सुधार कार्यालय र गाउँपालिकामा निवेदन समेत पेस गरिएको थियो।

सम्बन्धित समाचार

सबै