
सुरुङ्गा खबर। सप्तरीको बोदे बर्साईन नगरपालिका –३ गौरा, सारस्वर , मधुबन हुँदै बलान बिहुल गाउँपालिकाको बलानपट्टि सम्म पक्की सडकको सोमबार शिलान्यास गरिएको छ। एक समारोहका बीच , मधेस प्रदेश सभा सदस्य अनिरुद्व कुमार सिंहले भूमि पूजन गरी सडक निर्माणको शुभारम्भ गरेका हुन्।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथि रहेका सिंहले जनताको भारी मतले निर्वाचित हुन सकेको कारण आफूले विकास निर्माणलाई प्राथमिकता दिएको बताए। उनले विशेष पहलमार्फत बजेट विनियोजन गराइएको उल्लेख गर्दै सो सडक निर्माणपछि हजारौं स्थानीय बासिन्दा लाभान्वित हुने धारणा राखे।
कार्यक्रममा बोदे बर्साईन नगरपालिकाकी उपाप्रमुख रेणु कुमारी साह, बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, वडा नम्बर १ का अध्यक्ष रबिन्द्र कुमार साह , वडा नम्बर ३ का अध्यक्ष शिव नारायण यादव , पुर्वाधार बिकास कार्यालय राजबिराजका लेखापाल बिरेन्द्र कुमार साह ,इन्जिनियर दिनेश ठाकुर , नेपाल प्रहरी , सशस्त्र प्रहरी , नगर प्रहरी लगायत दर्जनौं स्थानीय वासी तथा नेताकार्यकर्ताको उपस्थित रहेको थियो।
पुर्वाधार बिकास कार्यालय राजबिराज सप्तरीको आर्थिक सहयोगमा करिब १४ करोड ८६ लाख २० हजार ८ सय ४५ रुपैयाँ लागतमा निर्माण हुने सो सडकको ठेक्का यम/यस सारस सगरमाथा जेभी त्रियुगा –११, उदयपुरले पाएको छ। निर्माण कार्य २०८२ असार २५ गतेदेखि सुरु भई २०८४ असार १९ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
स्थानीय बासिन्दाले सडक निर्माण कार्य समयमै सम्पन्न भई सहज आवागमनको सुविधा मिल्ने अपेक्षा गरेका छन्।