
शियाराम यादव, साउन २४
सुरुङ्गा खबर, दोहा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले गत हप्तामा सम्पन्न ११औं राष्ट्रिय अधिवेशनको समीक्षा गर्दै पहिलो बैठक सम्पन्न गरेको छ। बैठक संघका अध्यक्ष पदम गिरीको अध्यक्षतामा र महासचिव शिव भुजेलको सञ्चालनमा वल्र्ड दरबार रेस्टुरेन्टको सभा हलमा भएको थियो।बैठकमा अधिवेशनको सफलतापूर्वक सम्पन्नताप्रति खुशी व्यक्त गर्दै अन्तर्राष्ट्रिय विधानअनुसार समावेशी ढंगले ८ जना कार्यसमिति सदस्य मनोनयन गरिएको र केशव कार्कीलाई प्रमुख सल्लाहकारसहित १६ जना सल्लाहकार नियुक्त गरिएको जानकारी दिइयो।
बैठकले प्रत्येक दुई महिनामा नियमित बैठक बस्ने, विधानअनुसार विभागीय जिम्मेवारी बाँडफाँड गर्ने तथा आगामी प्राथमिकताहरूमा केन्द्रित हुने निर्णय गरेको छ। यस क्रममा १४ वटा प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएका छन्।
कतारका विभिन्न निकायहरूसँग सहकार्य र समन्वय विस्तार गर्ने तथा आगामी चुनौतीहरू सामना गर्दै अघि बढ्ने रणनीति समेत तय गरिएको छ।अध्यक्ष गिरीले सबै पदाधिकारी र कार्यसमिति सदस्यलाई अन्तर्राष्ट्रिय विधानको पालना गर्न आग्रह गर्दै एकता र प्रभावकारी कार्यशैलीमा जोड दिनुभयो। बैठकमा केही आन्तरिक विषयहरूमा पनि छलफल भएको थियो।