
सुरुङ्गा सम्बाददाता
बिरगंज। जगरनाथपुर गाउँपालिका र वीरगंज–१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच एक ऐतिहासिक सम्झौता सम्पन्न भएको छ। गाउँपालिकाका नागरिकलाई गुणस्तरीय, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले गरिएको यो सम्झौतामा बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार, जगरनाथपुर गाउँपालिकाका बासिन्दाहरूले नेशनल मेडिकल कलेजमा प्रदान गरिने विभिन्न स्वास्थ्य सेवाहरूमा ७ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्ने छन्। छुट लाग्ने सेवाहरूमा ओपीडी सेवा, शल्यक्रिया (सर्जरी), बेड चार्ज, एक्स–रे, सिटी स्क्यान (CT Scan), एमआरआई (MRI), ल्याब परीक्षण (प्याथोलोजी) तथा फार्मेसी (औषधि खरिद) लगायतका सेवाहरू समावेश छन्।
त्यसैगरी, सम्झौता बमोजिम हरेक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ, जसबाट स्थानीय समुदायलाई थप लाभ पुग्ने विश्वास लिइएको छ।
सम्झौता समारोहमा उपाध्यक्ष श्रीमती बबिता सिंह, विभिन्न वडाका अध्यक्षहरू, अन्य जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरू तथा कलेजका प्रमुख सूचना अधिकारी इ. प्रदीप चौधरी र मार्केटिङ प्रबन्धक जितेश चन्द्र दासको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष यादवले उक्त समझौताले स्थानीय तहमा स्वास्थ्य सेवा पहुँचलाई थप सुदृढ बनाउने र नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ।