
सुरुङ्गा खबर, सप्तरी। कलैया, बारा – संघीय गणतान्त्रिक गठबन्धनले बारा जिल्लाको कलैयामा जागरण सभा तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपले सम्पन्न गरेको छ। बहुजन एकता पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, नेपाल जन जागृति पार्टी, नेपाल सद्भावना पार्टी र ऐतिहासिक जनता पार्टी सम्मिलित उक्त गठबन्धनले मधेस प्रदेशमा सशक्त शक्ति प्रदर्शनसहित जनजागरण अभियान अगाडि बढाइरहेको छ।
नगर परिक्रमा र सभा दुवैमा हजारौंको सहभागिता रहेको कार्यक्रममा “वोट हाम्रो, शासन तिम्रो—अब चल्दैन”, “जातिवाद धोका हो, धक्का हानौं मौका हो”, “गणतन्त्र जिन्दावाद”, “पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर”, “मदरसा विधेयक पास गर”, “ओबीसी आयोग गठन गर”, “निषाद आयोग गठन गर”, “दलितमाथिको हत्या र बलात्कार बन्द गर” लगायत क्रान्तिकारी नाराहरु गुञ्जिएका थिए।सभालाई संबोधन गर्नु हुँदै बहुजन एकता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष हरिनन्दन अंबेडकरले भने
“जात व्यवस्थालाई नफाली मानवता स्थापन हुँदैन। अहिले केही सिमित जातहरुले राजनीति कब्जा गरेर बहुजन समाजलाई विभाजित पारिरहेका छन्। अब बहुजन समाजले ‘जाति जाति’ भन्नेहरुलाई वोट नदिई, उनीहरुलाई असली औकातमा फर्काउनुपर्छ। हामीले उठाएको बहुजन मुक्ति आन्दोलन कुनै व्यक्तिविशेषको होइन, यो पुस्तौंको इतिहास र भविष्य जोगाउने लडाइँ हो।”
सोही कार्यक्रममा बोल्दै नेपाल संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री रिजवान अंसारीले
“मधेसले गणतन्त्र ल्यायो, तर मधेसी र मुस्लिम समुदाय अझै पनि दोश्रो दर्जाको नागरिकझैं व्यवहार भोग्न बाध्य छन्। ओबीसी आयोग र मदरसा विधेयक तत्काल पारित नगरेसम्म संविधानको आत्मा अपूर्ण रहन्छ भन्नुहुदै गणतन्त्रको सार समावेशीता भएकोले हामी अब अधिकार बिना सम्झौता न गर्ने बताए।
नेपाल सद्भावना पार्टीका अध्यक्ष राम कुमार महतोले
“समावेशीता, समानता र सामाजिक न्यायका सवालमा दलित, मुस्लिम, मधेसी, आदिवासी जनजाति समुदायबीच एकता अपरिहार्य छ। जातीय विभाजन र पहिचानका नाममा राजनीति गर्नेहरुप्रति जनता सजग हुनुपर्छ। अबको आन्दोलन अधिकारको सुनिश्चितता र प्रतिनिधित्वको पुनरलेखनका लागि हुनेछ।”भन्नुभयो।
नेपाल जन जागृति पार्टीका केन्द्रिय अध्यक्ष धुपलाल प्रसाद सहनी निषादले
“निषाद र अन्य सीमान्तकृत समुदायहरूको आवाज राजनीतिक मूलधारमा नआउँदासम्म लोकतन्त्र अपूरो हुने भन्दै निषाद आयोग गठन हाम्रो पहिचानको औपचारिक मान्यता हो, र यसलाई अविलम्ब कार्यान्वयन गरिनुपर्छ। बहुजन शक्ति एक भएर उठ्यो भने सत्ताको समीकरण फेरिन बेर लाग्दैन।”बताउनुभयो।
यस शक्तिशाली एकताबद्ध अभियानमार्फत संघीय गणतान्त्रिक गठबन्धनले मधेस प्रदेशमा जनताको विश्वास जित्ने र प्रतिनिधित्वको नयाँ परिभाषा स्थापित गर्ने लक्ष्य लिएको छ। कार्यक्रमका आयोजकहरूका अनुसार आगामी दिनहरूमा प्रदेशका अन्य जिल्लाहरूमा समेत यस्तै जागरण सभा र जनसंवाद कार्यक्रमहरू गरिनेछन्।