बलात्कार आरोपीलाई फाँसीको माग गर्दै रौतहटमा प्रदर्शन

0 Shares

रौतहट, साउन ११

सुरुङ्गा खबर, सप्तरी । रौतहट जिल्लाको राजपुर नगरपालिका–३ की एक दलित महिलामाथि भएको बलात्कार घटनाको विरोधमा शुक्रबार गौरस्थित जिल्ला अदालत अगाडि प्रदर्शन गरिएको छ। पीडितलाई न्याय दिलाउन र दोषीलाई कडा कानुनी सजायको माग गर्दै प्रदर्शनकारीहरूले बलात्कार आरोपी खुर्शिद खाँ पठानलाई फाँसी दिनुपर्ने माग गरेका छन्।

 

प्रदर्शनको नेतृत्व चमार कल्याण समाज नेपालका केन्द्रीय सदस्य तथा मलेशिया शाखाका संयोजक नन्दलाल रामले गरेका थिए। कार्यक्रममा हाम्रो सिडब्लुएस नेपाल रौतहटका पदाधिकारीहरू, केन्द्रीय सदस्य उदय नारायण राम, महिला तथा दलित अधिकारकर्मीहरू, समाजसेवीहरू र स्थानीय अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

प्रदर्शनमा सहभागीहरूले “बलात्कारीलाई फाँसी दे”, “दलित महिलाको सम्मान होस् सुरक्षित”, “न्याय नपाइन्जेल संघर्ष जारी रहन्छ” लगायतका नारा लगाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।

 

कार्यक्रममा सम्बोधन गर्दै नन्दलाल रामले भने, “दलित महिला माथिको यस्तो जघन्य अपराधलाई राज्यले हल्काफुल्को रूपमा लिएको खण्डमा हामी अझ व्यापक आन्दोलनमा जान बाध्य हुनेछौं।” उनले सरकारसँग महिला सुरक्षाको सुनिश्चितता गर्न र दोषीलाई कडाभन्दा कडा सजाय दिन माग गरे।

 

यस घटनाले जिल्लाभर तरंग फैलाएको छ भने दलित समुदाय एकजुट भएर पीडितलाई न्याय दिलाउन लागिपरेका छन्। अधिकारकर्मीहरूले घटनाले दलित महिला माथिको निरन्तर हुने अत्याचार र राज्यको उदासीनता प्रति गम्भीर प्रश्न उठाएको बताएका छन्।

 

उता आजै जिल्ला अदालतले आरोपीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। प्रदर्शन सफल पार्नमा सहभागी र सहयोगी सबैप्रति हाम्रो सिडब्लुएस नेपाल केन्द्रीय समितिले विशेष धन्यवाद व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै