सुरुङ्गा खबर, सप्तरी। बिरगंज – “तपाईं संग धेरै छ भने हामीलाई दिनुहोस्, र तपाईंलाई जरुरी छ भने कमी भए हामीसँग निःशुल्क लिएर जानुहोस्” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै वीरगंज कपडा बैंकले विगत ६ वर्षदेखि निरन्तर रूपमा दिन–दुःखी, असहाय तथा विपन्न वर्गलाई नयाँ तथा पुराना कपडासहित विविध राहत सामग्री उपलब्ध गराउँदै आइरहेको छ।
यसै अभियान अन्तर्गत आज वीरगंज–१३, राधेमाईका मानवतावादी समाजसेवी कृष्णा कुशवाहाले वीरगंज कपडा बैंकको कार्यालयमै पुगेर बैंक अध्यक्ष लालबाबु सिंह तथा सचिव कन्हैया पटेललाई संयुक्त रूपमा २ झोला नयाँ कपडा हस्तान्तरण गर्नुभयो।
कपडा हस्तान्तरण गर्दै कुशवाहा ज्युले बैंकले विगतदेखि गरिरहेको सामाजिक सेवाको खुलेर प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “वीरगंज कपडा बैंकले समाजका असहाय तथा पीडितहरूप्रति देखाएको समर्पण साँच्चिकै प्रेरणादायी छ। यस्तो सेवामूलक कार्यबाट सबैले प्रेरणा लिनुपर्छ।”
उहाँद्वारा प्रदान गरिएको सहयोगप्रति बैंक परिवारले हार्दिक आभार व्यक्त गर्दै समाजका अन्य नागरिकहरूलाई पनि यस प्रकारको सेवाभावी कार्यमा सहभागी हुन आग्रह गरेको छ।
कार्यक्रममा सञ्चारकर्मी राजकुमारी गुप्ता (ज्योति दैनिक), निरंजन शाह (एनएन न्यूज), तथा विशाल ठाकुर (प्लसवन ४के टेलिभिजन) को उपस्थिति रहेको थियो।