सुरुङ्गा खबर, सप्तरी। बझाङ – वित्थडचिर गाउँपालिका–६ मा एक विशेष सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडा कार्यालयले १६ वर्षमुनिका, आमाबुवा दुवै गुमाएका ४० जना टुहुरा बालबालिकालाई प्रति व्यक्ति ५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको छ। प्राप्त छात्रवृत्तिबाट बालबालिकाहरूले झोला, विद्यालय पोसाक, कापी, कलम लगायतका शैक्षिक सामग्री खरिद गर्न सक्नेछन्।
वडा अध्यक्ष हरिश खड्काका अनुसार, यो कार्यक्रम गरिब, विपन्न तथा असहाय बालबालिकालाई विद्यालय जान प्रोत्साहन गर्न र उनीहरूको शैक्षिक भविष्य उज्वल बनाउनका लागि ल्याइएको हो। “हामी चाहन्छौं कि आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट टाढा नहोस्। हरेक बालबालिका शिक्षाको पहुँचभित्र आउनुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौं,” अध्यक्ष खड्काले बताउनुभयो।
कार्यक्रमकै अवसरमा ‘गृहकार्यसँग वडाध्यक्ष’ अभियान अन्तर्गत २०७९ साउनदेखि २०८० असार मसान्तसम्म वडा नम्बर ६ मा मृत्यु भएका १० जना व्यक्तिका परिवारलाई प्रति परिवार १० हजार रुपैयाँका दरले ‘क्रिया खर्च’ प्रदान गरिएको छ। अध्यक्ष खड्काका अनुसार, मृत्युको पीडामा परेका परिवारलाई सानो राहत मिलोस् भन्ने मानवीय भावना स्वरूप यो सहयोग प्रदान गरिएको हो।
उक्त कार्यक्रममा वडा अध्यक्षसहित वडाका कर्मचारी, शिक्षक, विद्यालय प्रतिनिधि, अभिभावक, सामाजिक अभियन्ता तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी स्थानीयले वडाको यस पहलप्रति प्रशंसा व्यक्त गर्दै यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तरता दिनुपर्ने माग गरेका छन्।
सामाजिक न्यायका लागि दलित महाअभियान भारतका केन्द्रीय सचिव सुशील ओखेडाले वडाको सामाजिक न्याय र मानवतावादी उत्तरदायित्वप्रतिको संवेदनशीलता यस्तो कार्यक्रममार्फत झल्किएको बताए।