सुरुङ्गा खबर, रुपन्देही ।नेपाली चमार समुदायको साझा संगठन चमार कल्याण समाज नेपालले रुपन्देही जिल्लामा पहिलोपटक आफ्नो पहिचान र गौरवलाई उजागर गर्ने उद्देश्यका साथ ‘द ग्रेट चमार टोल’ नामक बोर्ड स्थापना गरेको छ।

कार्यक्रमको उद्घाटन स्थानिय राधेश्याम चमारको अध्यक्षता तथा रोहिणी गाउँपालिका उपप्रमुख शिवकान्ति चमार र चमार कल्याण समाज नेपालका केन्द्रीय अध्यक्ष दिनेश चमारले संयुक्त रूपमा गर्नुभयो।
उपप्रमुख चमारले कार्यक्रममा बोल्दै हालका युवाहरूले समाजको अग्रगमन, शिक्षामा जोड, र समग्र रूपान्तरणमा खेलेको भूमिकाले पालिकालगायत सिङ्गो देश नै खुसी भएको बताउनुभयो। उहाँले समाजले आफ्नो हकअधिकार प्राप्त गर्न अझ बढी संगठित र सक्रिय हुनु आवश्यक रहेकोमा जोड दिनुभयो।
त्यसैगरी, अध्यक्ष दिनेश चमारले जबसम्म चमार समाज एकताबद्ध र संगठित हुँदैन, तबसम्म राज्यको विकास र राजनीतिक पहुँच सम्भव नहुने बताउनुभयो। देश तथा विदेशमा रहेका युवाहरूको सक्रिय सहभागिताले समाजले विभिन्न महत्वपूर्ण काम गर्दै आएको जानकारी उहाँले दिनुभयो।
समाजसेवी रमेश चमारको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य दिपक चमार, सल्लाहकार बैजनाथ चमार, रोहित चमार, कार्यपालिका सदस्य जयप्रकाश हरिजन, जिल्ला समिति सदस्य सुरज हरिजन, राजमन चमारलगायतले आ-आफ्ना धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको सफलतामा हातेमालो गर्ने स्थानीय युवा तथा आर्थिक सहयोगदाताहरूप्रति जिल्ला समितिले विशेष धन्यवाद प्रकट गरेको छ।
