कडरबोना २६ असार । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा १५ औं नगर सभाको दोस्रो बैठक सम्पन्न भएको छ। गत असार ९ गते प्रस्तुत गरिएको आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम तथा बजेटमाथि आज सम्पन्न दोस्रो बैठकले विस्तृत छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको हो।
सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, वार्षिक बजेट, योजना तथा कार्यक्रमहरू तथा न्यायिक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन ध्वनि मतद्वारा पारित गरियो। नगर प्रमुख गिता चौधरीका अनुसार बैठक नगर सभा सञ्चालन कार्यविधि २०७४ को दफा १६ बमोजिम सम्पन्न गरिएको हो।
मेयर चौधरीले आगामी आर्थिक वर्षका लागि नगरपालिकाले १ अर्ब ४४ लाख ९६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको जानकारी दिइन्। यस आर्थिक वर्षमा नगरपालिकाले विनियोजित बजेटमध्ये ७८.४७ प्रतिशत खर्च गरेको विवरण सार्वजनिक गरिएको छ।
चालु खर्चतर्फ ४७ करोड ७६ लाख चार हजार दुई सय ४६ रुपैयाँ बजेट विनियोजन गरिएकामा ४० करोड ३३ लाख तीन सय ३८ रुपैयाँ खर्च भएको छ, जुन ८४.४४ प्रतिशत हो। यस्तै पुँजीगत खर्चतर्फ २६ करोड २३ लाख ४७ हजार तीन सय ५५ रुपैयाँ विनियोजन गरिएकामा १७ करोड ७३ लाख ८३ हजार पाँच सय ५९ रुपैयाँ खर्च भएको जनाइएको छ, जुन ६७.६१ प्रतिशत हो।
बैठकमा नगर प्रमुख गिता चौधरीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा उप–प्रमुख रुद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रा, जिन्सी शाखा प्रमुख राज कुमार यादव, प्रशासन शाखा प्रमुख घनश्याम पोखरेल, इन्जिनियर इन्द्र प्रसाद चौधरी, नगर प्रवक्ता शिब दर्शन पासमान, स्रोत व्यक्ति भोगेन्द्र यादव, वडा नं. १ देखि ११ का वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू र विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।
नगर सभा सुरुङ्गा नगरपालिका वडा नं. ४ स्थित आधारभूत विद्यालय कनकपट्टीमा सम्पन्न भएको थियो।