सुरुङ्गा खबर, सप्तरी। लालबन्दी, सर्लाही — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी–७ स्थित डुमडुमे मन्दिर अगाडि आज बिहानदेखि चक्काजाम भएको छ। स्थानीय तरकारी बजारमा करका कारण किसान र व्यापारी आन्दोलित बनेपछि राजमार्ग अवरुद्ध भएको हो।
किसानबाट खरिद गरिएको तरकारी अन्यत्र लैजानका लागि नगरपालिकाले कर तिर्नुपर्ने व्यवस्था गरेपछि व्यापारी आक्रोशित भएका छन्। यसै विषयमा हिजो आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले कर खारेज नभएसम्म तरकारी नकिन्ने चेतावनी दिएका थिए।
आज बिहान किसानहरू बजारमा तरकारी लिएर आए पनि व्यापारीले खरिद नगरेपछि स्थिति तनावपूर्ण बनेको हो। विक्री नहुँदा किसान आक्रोशित बनेका छन् भने व्यापारीहरू पनि करप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका छन्।
नगरपालिकाविरुद्ध नाराबाजी गर्दै किसान र व्यापारी संयुक्त रूपमा डुमडुमेस्थित तरकारी बजार अगाडि राजमार्गमै बसेर चक्काजाम गरिरहेका छन्। चक्काजामका कारण पूर्व–पश्चिम राजमार्गको सवारी आवागमन अवरुद्ध बनेको छ।
स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको जनाइएको छ।