सुरुङ्गा खबर। सप्तरीको सुरुङ्गा नगरपालिकाको १५औं नगरसभा भव्य र मर्यादित रूपमा सम्पन्न भएको छ। नगरसभाको उद्घाटन सत्रमा नगर प्रमुख श्रीमती गिता चौधरीज्यूले वातावरण संरक्षणको सन्देश दिन गमलामा रोपिएको फूलको बोटमा पानी हालेर कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो। वातावरणप्रेमी तथा सन्देशमूलक शैलीमा गरिएको उद्घाटनले उपस्थित सबैको ध्यानाकर्षण गराएको थियो।

उद्घाटन सत्रको अध्यक्षता नगर उप–प्रमुख श्री रुद्रबहादुर कार्कीले गर्नुभएको थियो। नगर प्रमुख चौधरीज्यूले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाले स्थानीय आवश्यकता, दिगो विकास र सामाजिक समावेशीतालाई प्राथमिकता दिनेगरी योजनाहरू अघि बढाइने बताउनुभयो।
उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी सिर्जना, महिला तथा बालबालिका सशक्तीकरण, विपद् व्यवस्थापन, सूचना प्रविधि र वातावरणीय संरक्षणलाई नीति तथा कार्यक्रमको केन्द्रमा राखिने बताउनुभयो। “साझा सहभागिता र पारदर्शिता हाम्रो नीति हुनेछ,” नगर प्रमुख चौधरीज्यूले भन्नुभयो।

त्यसपछि योजना तथा बजेट प्रस्तुत गर्दै नगर उप–प्रमुख श्री रुद्रबहादुर कार्कीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ४४ लाख ९४ हजार रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। प्रस्तुत बजेट नगरपालिकाका विकास कार्यक्रमहरू, सामाजिक सुरक्षाभत्ता, पूर्वाधार निर्माण, सडक विस्तार, खानेपानी, कृषि यान्त्रिकीकरण, स्वास्थ्य सेवा सुदृढीकरण, पर्यटन प्रवर्द्धन लगायतका क्षेत्रमा खर्च गरिनेछ।
उहाँले बजेटमा आवधिक योजना, वडा जनप्रतिक्रिया, सरोकारवाला परामर्श र समुदायको चाहनालाई आधार बनाई समावेश गरिएको जानकारी दिनुभयो। विशेषगरी आधारभूत सेवा प्रवाहमा सुधार, प्रविधिमैत्री प्रशासन, समावेशी बजेट र पारदर्शी खर्च व्यवस्थापनप्रति नगरपालिका प्रतिवद्ध रहेको उपप्रमुख कार्कीले स्पष्ट पार्नुभयो।
नगरसभामा नगर कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू, कर्मचारी, नागरिक समाजका प्रतिनिधिहरू, पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा स्थानीय नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो। नगरसभाले आर्थिक वर्ष २०८२/०८३ का नीति, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरेको जनाइएको छ।
कार्यक्रमको समापनमा नगर उप प्रमुख कार्कीले सबै सहभागीप्रति आभार प्रकट गर्दै जनतामैत्री सेवा, उत्तरदायी प्रशासन र समृद्ध सुरुङ्गा निर्माणमा सबैको सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।