जीवन कुमार राम, कडरबोना। सप्तरीको सुरुङ्गा नगरपालिकाले आज एक सूचना जारी गर्दै नदीजन्य पदार्थको उत्खनन्, संकलन, बिक्री वितरण तथा निकासीमा अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ। नगर क्षेत्रभित्र बहने ठूला र साना नदीनालाहरु तथा निजी जग्गाबाट ढुङ्गा, गिट्टी, वालुवा र माटो जस्ता सामग्री उत्खनन् तथा संकलन गर्न अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि अनुमति नदिने स्पष्ट गरिएको छ।
सुरुङ्गा नगरपालिका द्वारा जारी गरिएको सुचना।

यस निर्णयको आधार ढुङ्गा, गिट्टी, वालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७९ रहेको जनाइएको छ, जसअनुसार हरेक वर्ष असार १ गतेदेखि भदौ महिनाको मसान्तसम्म नदीजन्य पदार्थ सम्बन्धी कार्य गर्न नपाइने व्यवस्था छ।
नगरपालिकाके सूचनामा भनिएको छ, “नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा वितरण कार्य बन्द गरिएकोले सबै सरोकारवालाहरूलाई जानकारी गराइन्छ। यसबाट पर्न सक्ने असुविधाप्रति नगरपालिका क्षमाप्रार्थी छ।”
सुरुङ्गा नगरपालिकाले सबै उपभोक्ता, निर्माण व्यवसायी तथा आम नागरिकलाई कानुनी प्रावधानको पूर्ण पालना गर्न आग्रह गरेको छ। यथास्थितिमा उल्लङ्घन भएमा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।