सुरुङ्गा सम्बाददाता, २५ साउन
सुरुङ्गा खबर, सप्तरी। अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसर पारेर सप्तरीमा छैठौँ जिल्ला युवा सम्मेलन आयोजना हुने भएको छ। खडक नगर युवा सञ्जालको आयोजनामा हुन लागेको सम्मेलनले जिल्लाका युवाहरूलाई एउटै मञ्चमा ल्याई उनीहरूका समस्या, सम्भावना र साझा मुद्दामाथि बहस तथा छलफल गर्ने जनाएको छ।
खडक नगर युवा सञ्जालका अध्यक्ष रकिराज प्रभात चौधरीका अनुसार सम्मेलनको मुख्य उद्देश्य युवाको नेतृत्व क्षमता विकाससँगै रोजगारी, उद्यमशीलता, शिक्षा, प्रविधि, वातावरण संरक्षण, युवा अधिकार तथा स्थानीय विकासमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्न आवश्यक पहलका विषयमा संवाद गर्नु हो।
संयुक्त राष्ट्रसंघले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा “Different Contexts, Common Aspirations” (भिन्न परिवेश, साझा आकांक्षा) तय गरेको छ। यही नारालाई केन्द्रमा राख्दै फरक सामाजिक, आर्थिक तथा भौगोलिक परिवेशमा रहेका युवाहरूका साझा आकांक्षा, अवसर र चुनौतीबारे सम्मेलनमा छलफल गरिने आयोजकले जनाएको छ।
सम्मेलनमा सप्तरीका विभिन्न स्थानीय तहबाट युवा प्रतिनिधि, युवा क्लब तथा युवा सञ्जालका प्रतिनिधि, विद्यार्थी, सामाजिक अभियन्ता, नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ।
कार्यक्रममा युवा रोजगारी तथा उद्यमशीलता, नेतृत्व विकास तथा स्थानीय शासनमा युवाको सहभागिता, शिक्षा तथा सीप विकास, डिजिटल प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई), जलवायु परिवर्तन तथा वातावरण संरक्षण, युवा अधिकार र सामाजिक समावेशिता लगायतका विषयमा अन्तरक्रिया तथा छलफल हुनेछन्।
आयोजकका अनुसार सम्मेलनले सप्तरीका युवाहरूले भोगिरहेका वास्तविक समस्या र आवश्यकताको पहिचान गर्दै त्यसलाई सम्बन्धित स्थानीय तह, प्रदेश तथा संघीय सरकार र विकास साझेदार संस्थासमक्ष पुर्याउने अपेक्षा गरिएको छ।
सम्मेलनबाट युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माणका लागि आवश्यक सुझाव संकलन गर्नुका साथै युवाको सहभागिता र नेतृत्वलाई स्थानीय विकाससँग जोड्ने प्रतिबद्धता निर्माण गर्ने लक्ष्य राखिएको छ।
खडक नगर युवा सञ्जालका अध्यक्ष रकिराज प्रभात चौधरीले सम्मेलनलाई जिल्लाका युवाबीच सहकार्य, संवाद र नेतृत्व विकासको महत्वपूर्ण अवसरका रूपमा लिइएको बताएका छन्।