जीवन कुमार राम, सुरुङ्गा खबर । सप्तरी बहिरा संघले कञ्चनरूप नगरपालिकाको आर्थिक सहयोगमा बहिरा व्यक्तिहरूको सञ्चार क्षमता अभिवृद्धिका लागि आयोजना गरेको नेपाली सांकेतिक भाषा तालिम बुधबार सम्पन्न भएको छ।

जेठ ४ गतेदेखि सुरु भएको सो तालिममा २५ जना बहिरा सहभागी भएका थिए। तालिमको उद्देश्य बहिरा व्यक्तिहरूलाई प्रभावकारी रूपमा सञ्चार गर्न सहयोग पुर्याउनु रहेको थियो।
तालिमको समापन समारोह संघका अध्यक्ष अरबिन्द कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भयो। कञ्चनरूप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता प्रमुख अतिथि रहनुभएको थियो। समारोहमा बोल्दै नगरप्रमुख गुप्ताले बहिरा समुदायको सशक्तिकरणका लागि यस्ता तालिमहरू आवश्यक रहेको उल्लेख गर्नुभयो।
समारोहमा पब्लिक आधारभूत विद्यालयका प्राध्यापक विजेन्द्र शर्मा लगायत अन्य वक्ताहरूले पनि मन्तव्य व्यक्त गरेका थिए।
संघले आगामी दिनमा अझ बढी बहिरा लक्षित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।