सप्तरी बहिरा संघद्वारा २५ दिने नेपाली सांकेतिक भाषा तालिमको उद्घाटन सम्पन्न

0 Shares

जीवन कुमार राम, सुरुङ्गा खबर, सप्तरी ४ जेठ। “सांकेतिक भाषा अधिकारका लागि सङ्केत गरौँ” भन्ने नारासहित सप्तरी बहिरा संघ, राजविराजको आयोजनामा तथा कञ्चनरूप नगरपालिकाको आर्थिक सहयोगमा कञ्चनरूपमा २५ दिने नेपाली सांकेतिक भाषा तालिम सुरु भएको छ।

तालिमको उद्घाटन कार्यक्रम २०८२ साल जेठ ४ गते श्री पब्लिक आधारभूत विद्यालय कञ्चनपुर–८, सप्तरीमा सम्पन्न भयो। तालिम उद्घाटन कार्यक्रममा संघका अध्यक्ष श्री अरबिन्द कुमार चौधरीको सभापतित्व रहेको थियो भने प्रमुख अतिथि कञ्चनरूप नगरपालिकाका नगरप्रमुख श्री ललन प्रसाद गुप्ता रहनुभएको थियो। कार्यक्रमको विशेष आतिथ्य प्रमुख प्रशासकीय अधिकृत श्री नवराज खड्काले गर्नुभएको थियो। साथै विभिन्न वडाका जनप्रतिनिधिहरू, शिक्षक, अभिभावक, समाजसेवी तथा बहिरा समुदायका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय रह्यो।

 

उद्घाटन सत्रमा वक्ताहरूले सांकेतिक भाषा सिकाइको महत्त्वलाई जोड दिँदै यस्तो तालिमले बहिरा व्यक्तिहरूको सामाजिक समावेशिता र पहुँचलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। नगरप्रमुख गुप्ताले आफ्नो मन्तव्यमा कञ्चनरूप नगरपालिका अपांगता भएका नागरिकहरूको हक अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा यस्ता थप कार्यक्रमलाई प्राथमिकतामा राखिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

 

तालिममा कञ्चनरूप नगरपालिकाका सबै वडाबाट सहभागीहरू समावेश गरिएको छ। सहभागीहरूलाई २५ दिनसम्म आधारभूत नेपाली सांकेतिक भाषा सम्बन्धी ज्ञान र अभ्यास प्रदान गरिनेछ। तालिमको माध्यमबाट सहभागीहरू बहिरा समुदायसँग प्रभावकारी रूपमा संवाद गर्न सक्ने योग्य हुने अपेक्षा गरिएको छ।

 

सप्तरी बहिरा संघका अनुसार यो तालिम बहिरा नागरिकहरूलाई मुख्यधारमा ल्याउने, उनीहरूप्रति समाजमा चेतना अभिवृद्धि गर्ने र स्थानीय तहमा समावेशी सेवा प्रवाहलाई सबल बनाउने दिशामा उठाइएको सार्थक कदम हो।

सम्बन्धित समाचार

सबै