दलित समुदायमाथि जबरजस्तीको विरोधमा स्वाधीन मधेस जन अभियानको कडा चेतावनी

0 Shares

सुरुङ्गा खबर, सप्तरी।राजविराज नगरपालिका–११ झल्हीमा बसोबास गर्दै आएका दलित समुदायका सदस्यहरूलाई जबरजस्ती घर खाली गर्न वडाध्यक्ष, मेयर लगायत प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्वयंले निरन्तर धाकधम्की दिइरहेको पिडित पक्षले आरोप लगाएका छन्।

पीडित दलित परिवारहरूले कुनै वैकल्पिक व्यवस्था नगरी घर खाली गराउन खोजिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले आफूहरू गरिब, पीडित तथा भूमिहीन भएको बताउँदै यस्तो कार्य अमानवीय र अन्यायपूर्ण रहेको उल्लेख गरेका छन्।

यस घटनाप्रति स्वाधीन मधेस जन अभियानले कडा विरोध जनाएको छ। अभियानकी नेतृ फूलकुमारी रामले बिना पुनर्वास र व्यवस्थापन गरिब तथा दलित समुदायलाई हटाउने प्रयास मानवअधिकारको उल्लंघन भएको बताउँदै, राज्यसंयन्त्रले नागरिकमाथि शोषण गर्न नपाउने स्पष्ट सन्देश दिएकी छिन्।

उनले चेतावनी दिँदै भनिन्, “गरिब, दलित र पीडितमाथि गरिएको यस्तो जबरजस्ती व्यवहार कुनै पनि हालतमा स्वीकार्य हुँदैन। पीडित समुदायको न्याय र अधिकारका पक्षमा हाम्रो अभियान दृढतापूर्वक उभिनेछ।”

स्वाधीन मधेस जन अभियानले राज्यलाई यस्ता अमानवीय गतिविधि तत्काल रोक्न र पीडित समुदायको उचित पुनःव्यवस्थापन गर्न माग गरेको छ।

सम्बन्धित समाचार

सबै