फुलो कुमारी राम बैशाख २३ – सुनसरीको कोशी गाउँपालिका–३ का स्थानीयहरू दुई दिनदेखि विद्युतविहीन अवस्थामा बस्न बाध्य भएका छन्। हिजोदेखि गाउँमा विद्युत आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको र सम्बन्धित निकायबाट मर्मतको कुनै प्रयास नभएपछि आज स्थानीय युवाहरूले आक्रोश व्यक्त गर्दै सडक अवरोध गरेका छन्।
गाउँका बासिन्दाहरूका अनुसार हिजो दिउँसोदेखि अचानक विद्युत आपूर्ति बन्द भएको थियो। जानकारी गराउँदा पनि कुनै प्राविधिक टोली नआएको, न त मर्मतको सुरसार भएको देखिएको भन्दै स्थानीयहरू आक्रोशित भएका छन्।
आज राति युवाहरूले प्रमुख सडकमा अवरोध गर्दै सडकजाम गरेका छन्। उनीहरूले ‘विद्युत चाहियो’, ‘विकास कहाँ छ?’ जस्ता नारा लगाउँदै गाउँपालिकाको ध्यानाकर्षण गराएका छन्।
एक स्थानीय युवाले भने, “गाउँमा अन्धकार छ, टेलिफोन चार्ज गर्न सकिँदैन, बालबालिकाको पढाइ प्रभावित भएको छ। बारम्बार विद्युत समस्या भइरहँदा पनि स्थानीय तह मौन बस्नु दुःखद छ।”
सडक अवरोधका कारण सवारी आवागमन प्रभावित भएको छ भने स्थानीय प्रशासनले समस्या समाधानका लागि पहल गर्ने प्रयासमा रहेको जनाएको छ।
विद्युत प्राधिकरण र कोशी गाउँपालिकाबाट यसबारे आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।