जीवन कुमार राम ।बैशाख २० कडरबोना । नेपाल राम समाजले सञ्चालन गरिरहेको संगठन सुदृढीकरण अभियान अन्तर्गत सुरुङ्गा नगरपालिका स्तरीय भेला शनिबारको दिन सुरुङ्गा न.पा. ५ कुशहा बजारमा सम्पन्न भएको छ।
भेलामा सुरुङ्गा नगरपालिका अध्यक्ष राम भगत रामको अध्यक्षता र नेपाल राम समाजका केन्द्रीय अध्यक्ष प्रथम लाल रामको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय कोषाध्यक्ष बेली कुमारी राम, संगठन विभाग प्रमुख रुन्दी लाल राम, र दलित जनचेतना विभाग प्रमुख इन्द्र देव रामको उपस्थिति उल्लेखनीय थियो।
स्थानीय समुदायका अगुवा, सदस्य तथा पीडितहरूको सक्रिय सहभागितामा सम्पन्न भेलामा पछिल्ला सामाजिक घटनाहरू, दलित समुदायले भोगिरहेका समस्याहरू र तिनको समाधानका उपायहरूबारे गहिरो छलफल गरिएको थियो। सहभागीहरूले पीडितहरूको आवाजलाई सशक्त बनाउने तथा संगठनलाई एकीकृत गर्दै अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
नेपाल राम समाजले सप्तरी जिल्लाका सम्पूर्ण स्थानीय तहहरूमा संगठन सुदृढीकरण अभियान सञ्चालन गरिरहेको छ, जसले दलित समुदायमा जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक न्याय र समानताको पक्षमा अभियानलाई अगाडि बढाउने उद्देश्य राखेको छ।