सलहेश फूलबारीमा ‘अम्बेडकर पार्क’ को शिलान्यास

0 Shares

सुरुङ्गा खबर, सप्तरी। सिरहाको लहानस्थित ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने भएको छ । आज एक कार्यक्रमका बीच जनमत पार्टीका अध्यक्ष डा सीके राउतले पार्कको शिलान्यास गरेका हुन् ।
मधेस प्रदेश सरकारको रु ८० लाख लागतमा वन तथा वातावरण मन्त्रालय अन्तर्गतको डिभिजन वन कार्यालय सिरहाले आगामी असार १५ भित्र पार्क निर्माण गर्ने गरी काम अगाडि बढेको हो ।
मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सलहेश फूलबारी क्षेत्रको विकासका लागि ‘मास्टर प्लान’ सहित प्रदेश सरकारले योजना अघि बढाएको बताए

“यो क्षेत्र आफैँमा धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र हो । यसको आफ्नै महत्व र गरिमा छ । यस क्षेत्रलाई व्यवस्थित बनाइ धार्मिक पर्यटन विकास र छिमेकी भारतीय पर्यटकलाई आकर्षित गर्न विशेष महत्व दिएर अम्बेडकर पार्क बनाउन लागिएको हो”, उनले भने, “अम्बेडकर जस्तो विश्वमा प्रतिष्ठित व्यक्तिको नाममा पार्क बनाउँदा यहाँका दलित तथा अन्य समुदायलाई एउटा प्रेरणा मिल्नेछ । यस क्षेत्रको जैविक विविधतालाई ध्यान दिँदै विकास गरिने छ ।”

प्रत्यक वर्ष वैशाख १ गते फूलबारी मेला लाग्ने गर्दछ, जहाँ सोही दिनमात्र फुल्ने विश्वास गरिएको सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न नेपाल तथा भारतबाट हजारौँ भक्तजन आउने गरेका छन् ।

उक्त शिलान्यास कार्यक्रममा वन तथा वातावरण मन्त्री त्रिभुवन साह,जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता पुर्व शिक्षामन्त्री महेश प्रसाद यादव,प्रदेश सांसद संजय यादव,भाग्यश्री चौधरी ,अनिता साहसहित जनमत पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेका थियो।

डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार पार्कभित्र बाबासाहेव भीमराव अम्बेडकरको पूर्णकदको शालिक, पानीको झरना, हात्तीको मूर्ति, प्रवेशद्वारलगायत संरचना बनाइने छन् । धार्मिक वनअन्तर्गत करिब नौ बिघा क्षेत्रफलमा यो क्षेत्र फैलिएको छ । पार्क निर्माणामा थप सहजताका लागि मन्दिरका पुजारी एवं स्थानीय जीतेन्द्रदेव धामी (दनुवार)ले फूलबारीसँगै जोडिएको आफ्नो नामको १० घुर जग्गासमेत दान गरेका छन् ।

सम्बन्धित समाचार

सबै