दलित अधिकार संघसंस्थाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0 Shares

सुरुङ्गा खबर, सप्तरी

सप्तरीको सुरुङ्गा नगरपालिकामा पूजाकुमारी राम मृत भेटिएको घटनामा न्याय प्रक्रियामा ढिलाइ भएको भन्दै तीन दलित अधिकार संघसंस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्

नेपाल राम समाज, राष्ट्रिय हरवाचरवा अधिकार मञ्च र जनचेतना दलित संगमले मंगलबार संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका हुन् ।

घटनाको सात दिन भइसक्दा पनि अपराधी फेला नपर्नुले न्याय पाउने प्रक्रिया सुस्त देखिएको नेपाल राम समाजका केन्द्रीय अध्यक्ष प्रथमलाल रामले बताए ।

मधेशमा दलित समुदायका महिला र किशोरी नियमित रुपमा हिंसाको सिकार बनिरहेको भएपनि प्रहरीको अनुसन्धान धेरै सुस्त रहेको उनको भनाई छ।‌

नेपाल राम समाजका साथै राष्ट्रिय हरवाचरवा अधिकार मञ्च र जनचेतना दलित संगमले बुझाएको ज्ञापनपत्रमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग गरिएको छ । त्यस्तै, पूजाको शंकास्पद मृत्यु घटनासहित मधेशमा दलित समुदायमाथि भइरहेको हत्या हिंसाको घटनामा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न पनि माग गरिएको छ ।
वैशाख १ गते राति घरबाटै बेपत्ता भएकी १८ वर्षीया पूजा भोलिपल्ट शंकास्पद अवस्थामा मृत भेटिएकी थिइन् । उनकी आमा रामवतीले छोरीको हत्या भएको भन्दै गत बुधबार नै इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएकी थिइन्।

सम्बन्धित समाचार

सबै