जीवन कुमार राम, गोलबजार
सिरहा । बहुजन एकता पार्टी नेपालको भ्रातृ संगठन बहुजन युवा संगठनले सिरहामा संगठन विस्तारलाई तीव्रता दिएको छ। जिल्ला स्तरीय भेलाबाट अध्यक्षमा सूर्य नारायण महरा सहित १७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।

बहुजन एकता पार्टी नेपाल सिरहाका जिल्ला अध्यक्ष शीतल महराको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दन रञ्जन प्रमुख अतिथि तथा महासचिव प्रकाश महरा , बहुजन युवा संगठनका केन्द्रीय अध्यक्ष मनोज राम, रामाज्ञा राम, शिव नारायण राम विशिष्ट अतिथीका रूपमा सहभागी थिए। कार्यक्रममा जिल्लाभरिका बुद्धिजीवी, समाजसेवी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष हरिनन्दन रञ्जनले बहुजन विचारधारा, पार्टीको उद्देश्य र सामाजिक रूपान्तरणका विषयमा धारणा राख्दै संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले बहुजन समुदायको अधिकार, समानता र सहभागिताका लागि एकताबद्ध प्रयास आवश्यक रहेको बताए।

पार्टीका महासचिव प्रकाश महराले राजनीतिक तथा सामाजिक अधिकारका लागि संगठनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नवगठित समितिलाई सक्रियताका साथ अघि बढ्न आग्रह गरे। उनले पार्टीको विचार र उद्देश्यलाई समुदायको तहसम्म पुर्याउन युवा पुस्ताको सहभागिता आवश्यक रहेको बताए।

युवा संगठनका केन्द्रीय अध्यक्ष मनोज रामले समाज परिवर्तनको अभियानमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए। उनले युवाहरूलाई नेतृत्व विकास, सामाजिक जागरण तथा अधिकारका सवालमा सक्रिय भएर अघि बढ्न आह्वान गरे।

भेलामा सहभागी अन्य अतिथिहरूले पनि बहुजन समुदायको सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणका लागि संगठन, एकता र सक्रिय नेतृत्व आवश्यक रहेको धारणा राख्दै नवगठित समितिलाई शुभकामना दिएका थिए।

भेलाले सूर्य नारायण महरालाई जिल्ला स्तरीय तदर्थ समितिको अध्यक्षमा सर्बसम्मत चयन। समितिको सचिवमा घुरन मण्डल र कोषाध्यक्षमा दिनेश महरा चयन भएका छन्।
सदस्यहरूमा कृष्ण कुमार महरा, महेश महरा, सुकराम सदा, दिलिप महरा, रामशंकर महरा र जितेन्द्र महरा रहेका छन्। उपाध्यक्षसहित बाँकी सदस्यहरू पछि थप गर्ने गरी १७ सदस्यीय समिति गठन गरिएको जनाइएको छ।
कार्यक्रममा प्रवासका विभिन्न देशबाट स्वदेश फर्किएका व्यक्तिहरूलाई पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दन रञ्जनले गम्छा र माला लगाएर सम्मान गरेका थिए। कार्यक्रमको सञ्चालन बिलेक्षन महराले गरेका थिए।