जीवन कुमार राम, सप्तरी १५ भदौ ।
सुरुङ्गा खबर। रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले सप्तरीका युवाहरूले जिल्लाका विभिन्न स्थानमा राहत संकलन अभियान सञ्चालन गरेका छन्।
‘सेवा नै धर्म हो’ भन्ने भावनासहित सप्तरी जिल्लाका युवाहरूको पहलमा विभिन्न स्थानमा राहत संकलन कार्यक्रम सञ्चालन गरिएको हो। बाढीका कारण घरबारविहीन तथा प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने उद्देश्यले अभियान अघि बढाइएको आयोजकले जनाएको छ।
अभियानका क्रममा स्थानीय नागरिक, व्यवसायी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सहयोगका लागि आह्वान गरिएको छ। संकलित राहत सामग्री तथा सहयोग रकमलाई व्यवस्थित रूपमा प्रभावित क्षेत्रमा पुर्याई बाढीपीडित परिवारलाई उपलब्ध गराउने तयारी गरिएको छ।
सप्तरीका युवाहरूले प्राकृतिक विपद्को समयमा मानवीय संवेदना र सामाजिक एकता प्रदर्शन गर्नुपर्ने भन्दै आफ्नो क्षमताअनुसार सहयोग गर्न सबैमा अपिल गरेका छन्।
‘यस विपद्का बेला सबै मिलिजुली सहयोग गरौँ’ भन्ने सन्देशका साथ सञ्चालन भइरहेको अभियानले रसुवाका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास गरिएको छ।