बिष्णु राम, ८ भदौ
सुरुङ्गा खबर, पर्सा। ACCESS परियोजनाअन्तर्गत सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) पर्साको आयोजना तथा एकाउन्टेबिलिटी ल्याब नेपालको सहकार्यमा धोविनी गाउँपालिकामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास (DID) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको सभा कक्षमा आयोजित कार्यक्रममा GEDSI तथा DID को अवधारणा, अपाङ्गताको परिचय तथा वर्गीकरण, समावेशी शिक्षा, बजेट व्यवस्थापन, स्रोत परिचालन तथा विकासका योजनामा अपाङ्गता समावेशी दृष्टिकोणलगायत विषयमा प्रस्तुतीकरण तथा छलफल गरिएको थियो।
गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद कटवाल, वडाध्यक्षहरू, शिक्षा, स्वास्थ्य तथा सामाजिक शाखाका प्रमुख, महिला तथा बालबालिका शाखा, पालिकास्तरीय अपाङ्गता समन्वय समिति, विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका प्रतिनिधि र SODCC पर्साका कार्यकारी निर्देशक रुपक पाण्डेलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई दयाको पात्र नभई समान अधिकार, अवसर, पहुँच र सहभागिता भएका नागरिकका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिइएको थियो। साथै विकासका योजना, नीति, बजेट, सेवा तथा संरचनाका सबै चरणमा अपाङ्गता समावेशी दृष्टिकोण अपनाउनुपर्ने धारणा व्यक्त गरिएको थियो।
समावेशी शिक्षाका लागि विद्यालय तथा सार्वजनिक सेवाहरूलाई पहुँचयुक्त बनाउने, आवश्यक पूर्वाधार तथा सहायक सेवा उपलब्ध गराउने र स्थानीय तह, विद्यालय, समुदाय तथा सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रमले ‘कसैलाई पनि पछाडि नपार्ने (Leave No One Behind)’ अवधारणालाई स्थानीय योजना, बजेट, शिक्षा तथा सेवा प्रवाहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालाबीच साझा बुझाइ विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।