सुरुङ्गा सम्बाददाता, ५ भाद्र
सुरुङ्गा खबर। रौतहट जिल्लाको वृन्दावन नगरपालिका निवासी समाजसेवी तथा नेपाली चमार समुदायको साझा संगठन चमार कल्याण समाज नेपाल, मलेसिया शाखाका निर्वतमान संयोजक एवं दुःखी–पीडितका साथी आदरणीय नन्दलाल रामचन्द्रमाथि भएको कुटपिट तथा घरमा आक्रमणको घटनाप्रति चमार कल्याण समाज नेपाल केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।
चमार कल्याण समाज नेपाल केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा नन्दलाल राममाथि केही व्यक्तिहरूले पूर्वाग्रही तथा जातीय विभेदपूर्ण धारणा राख्दै कुटपिट तथा घरमै आक्रमण गरेको जानकारी प्राप्त भएको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार नन्दलाल राम केही वर्षअघि विदेशबाट फर्किएर स्वदेशमै व्यवसाय सञ्चालन गर्दै आएका थिए। उनको पसल राम्रो चलेको विषयलाई लिएर केही व्यक्तिहरूले “चमारको पसल बन्द गराउनुपर्छ”, “यो धनी हुँदैछ”, “धनी भयो भने यिनीहरू हाम्रो घरमा काम गर्न आउँदैनन्” जस्ता पूर्वाग्रही तथा जातीय विभेदपूर्ण धारणा राख्दै रिसइबी साँधेर घरमै आक्रमण गरेको जानकारी समाजले प्राप्त गरेको जनाएको छ।
घटनामा संलग्न भनिएका भोला पटेल, रामबाबु पटेल, अरुण पटेल, हरिचन्द पटेललगायतका व्यक्तिहरू हालसम्म पक्राउ नपरेको जानकारी प्राप्त भएको समाजको भनाइ छ। पीडित नन्दलाल रामसँग घटनासम्बन्धी भिडियो तथा अन्य फुटेज सुरक्षित रहेको र उनीसँग व्यक्तिगत रिसइबी नभएको अवस्थामा दलित चमार भएकै कारण लक्षित गरी कुटपिट गरिएको हो भने उक्त घटना गम्भीर जातीय विभेद तथा अमानवीय व्यवहारको विषय बन्ने समाजले जनाएको छ।
चमार कल्याण समाज नेपालले घटनाको निष्पक्ष, पारदर्शी तथा तथ्यपरक छानबिन गरी दोषी देखिएका सबै व्यक्तिलाई प्रचलित कानुनबमोजिम यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ।
साथै पीडित नन्दलाल रामको सुरक्षा, उपचार, क्षतिपूर्ति तथा न्याय सुनिश्चित गर्न नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटसमक्ष समाजले हार्दिक अनुरोध गरेको छ।
जातीय विभेद, सामाजिक हिंसा तथा कानुन हातमा लिने प्रवृत्तिलाई कुनै पनि अवस्थामा संरक्षण वा प्रश्रय नदिन र पीडितलाई न्याय दिलाउन सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख छ।