शियाराम यादब,लहान
सुरुङ्गा खबर। मिथिला सामुदायिक सिकाइ केन्द्र, लहान नगरपालिका–२३, गडाहाले महिलाहरूका लागि सञ्चालन गरेको निःशुल्क दुई महिने सिलाइ कटाइ तालिम सम्पन्न भएको छ। तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
शुक्रबार मिथिला सामुदायिक सिकाइ केन्द्रको सभा हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष विलक्षण महतो ले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा लहान नगरपालिका–२३ का वडा अध्यक्ष बद्री नारायण यादव को उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय पत्रकार, शिक्षक, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको समेत सहभागिता रहेको थियो।
आयोजकका अनुसार महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर र स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो। तालिम पूरा गरेका सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनका गतिविधिमा जोडिन सक्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा वक्ताहरूले महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक तालिम आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
उक्त कार्यक्रमको आयोजना मिथिला सामुदायिक सिकाइ केन्द्र, लहान–२३, गडाहा, सिरहा ले गरेको हो।