बिष्णु राम, बिरगंज २२ असार।
सुरुङ्गा खबर, बिरगंज। सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा यातायात व्यवस्था कार्यालय कलैया, बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यसँग सम्बन्धित पुरानो भिडियो सार्वजनिक भएपछि कार्यालयले प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ।
कार्यालयका अनुसार उक्त घटना २०८२ साल फागुन महिनामा कार्यालय समयमै भएको थियो। आफूलाई पत्रकार भनेर परिचय दिएका एक व्यक्तिले कार्यालयमा प्रवेश गरी कर्मचारीमाथि अनावश्यक दबाब सिर्जना गर्ने, अपशब्द प्रयोग गर्ने तथा नियमित सेवा प्रवाहमा अवरोध पुर्याएपछि सामान्य विवादको अवस्था उत्पन्न भएको दाबी गरिएको छ।
विज्ञप्तिमा सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडियो घटनाको पूर्ण दृश्य नभई केही अंश मात्र सम्पादन गरेर सार्वजनिक गरिएको उल्लेख गर्दै त्यसका आधारमा वास्तविक अवस्थाको सही मूल्याङ्कन गर्न नसकिने बताइएको छ। साथै, घटना लगत्तै दुवै पक्षबीच छलफल भई आपसी सहमतिमा मिलापत्र भइसकेको विषय पनि स्मरण गराइएको छ।
कार्यालयले कर्मचारी वा कार्यालय प्रमुखको उद्देश्य कुनै पनि सेवाग्राहीप्रति दुर्व्यवहार गर्ने नभई कार्यालयको शान्ति, सुरक्षा र नियमित सेवा सञ्चालनलाई सुनिश्चित गर्नु रहेको स्पष्ट पारेको छ। घटनाका सम्बन्धमा सम्बन्धित निकायबाट अनुसन्धान वा छानबिन भएमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
साथै, अपूर्ण भिडियो वा एकपक्षीय सूचनाका आधारमा भ्रम फैलाउने, तथ्यविपरीत प्रचार गर्ने तथा कार्यालय र कर्मचारीको प्रतिष्ठामा असर पुग्ने गतिविधि नगर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालासँग आग्रह गरिएको छ।
विज्ञप्तिको अन्त्यमा यातायात व्यवस्था कार्यालय, बाराले कानुनको परिधिभित्र रही सेवाग्राहीलाई सरल, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्न आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ।