सुरुङ्गा सम्बाददाता,कञ्चनरूप ८ असार
द फ्रिडम फण्डको आर्थिक सहयोग तथा जन चेतना दलित संगम (जेडीएस) को आयोजनामा सञ्चालित हरवा–चरवा सशक्तीकरण कार्यक्रम अन्तर्गत कञ्चनरूप नगरपालिका स्थित मनकामना होटलमा न्यूनतम ज्याला, समान ज्याला तथा सम्मानजनक रोजगारीका विषयमा हरवा–चरवा, गिरहत तथा विभिन्न सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा हरवा–चरवाको श्रम अधिकार, न्यूनतम ज्यालाको कार्यान्वयन, महिला तथा पुरुषबीच समान कामको समान ज्याला सुनिश्चित गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै हरवा–चरवाको पुनर्स्थापना, परिचयपत्र वितरणका लागि कार्यविधि निर्माण तथा स्थानीय तहको योजना तथा बजेटमा उनीहरूका मुद्दा समावेश गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो।
कार्यक्रममा जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र रामले हरवा–चरवा सशक्तीकरण कार्यक्रमको उद्देश्य, गतिविधि, अपेक्षित उपलब्धि तथा स्वीकृत बजेटबारे जानकारी गराउँदै हरवा–चरवाको सम्मान, सुरक्षा, उचित ज्याला तथा समान अधिकार सुनिश्चित गर्न समुदाय, जमिन्दार, स्थानीय सरकार र अन्य सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र जनचेतना अभिवृद्धिबाट मात्र श्रम शोषण अन्त्य गर्न सकिने निष्कर्ष कार्यक्रममा व्यक्त गरिएको थियो।
अन्तरक्रियामा सहभागी हरवा–चरवा नेटवर्ककी सदस्य कोशीला सदाले आफूहरू गिरहतको खेतबारीमा श्रम गरेबापत दैनिक ४०० रुपैयाँ र १० केजी अन्न मात्र पाउने गरेको बताउनुभयो। पुरुष श्रमिकले भने सोही कामका लागि ५०० रुपैयाँ र १५ केजी धान पाउने गरेको उल्लेख गर्दै श्रमको मूल्यांकनमा लैङ्गिक विभेद अझै कायम रहेको गुनासो गर्नुभयो।
कार्यक्रमका अतिथि तथा कञ्चनरूप नगरपालिका वडा नं. ७ का अध्यक्ष समानन्द चौधरीले न्यूनतम तथा समान ज्याला सुनिश्चित गर्न वडा कार्यालयबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले हरवा–चरवाका समूहहरूबीच एकता र सामूहिक आवाज बलियो हुनुपर्नेमा जोड दिनुभयो।
जन चेतना दलित संगमकी कोषाध्यक्ष बेचनी देवी मुसहरनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ७ का अध्यक्ष समानन्द चौधरी, वडा नं. ६ का अध्यक्ष बच्चुलाल चौधरी, हरवा–चरवा नेटवर्ककी कोशीला देवी सदा, शिवपार्वती महिला समूह, दिनाभद्री महिला समूह, राधाकृष्ण महिला समूह, दलित महिला सदस्य, संस्थाका प्रतिनिधि, स्थानीय गिरहत, कर्मचारीलगायत ३५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र रामले गर्नुभएको थियो भने सञ्चालन प्रेमकुमार विश्वकर्माले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले हरवा–चरवाको श्रम अधिकार संरक्षण, न्यूनतम ज्यालाको कार्यान्वयन तथा महिला–पुरुषबीच समान कामको समान ज्याला सुनिश्चित गर्न स्थानीय सरकार, समुदाय र सरोकारवाला निकायहरूले साझा पहल गर्नुपर्नेमा जोड दिएका थिए।