सुरुङ्गा सम्बाददाता
काठमाडौं । चमार कल्याण समाज नेपाल, केन्द्रीय समितिले मधेसी दलित समुदायलाई समानुपातिक समावेशी कोटामा प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।
समाजका केन्द्रीय अध्यक्ष दिनेश चमारका अनुसार नेपालको विभिन्न सामाजिक, राजनीतिक तथा लोकतान्त्रिक आन्दोलनहरूमा मधेस–तराईका दलित समुदायको महत्वपूर्ण योगदान रहे पनि राज्यका नीति–निर्माण तह र राजनीतिक प्रतिनिधित्वमा उनीहरूलाई समुचित स्थान नदिइएको उल्लेख गरिएको छ।
नेपालका संविधान २०७२ ले राज्यका सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गरेको स्मरण गराउँदै सो प्रावधान कार्यान्वयनमा प्रभावकारी कदम नचालिएको गुनासो गरिएको छ। विशेष गरी मधेसी दलित समुदाय, जसमध्ये डोम, मुसहर, चमारलगायतका समूहहरू, अझै पनि राजनीतिक अवसरबाट वञ्चित रहेको समाजको दाबी छ।
समाजले विगतका निर्वाचनहरूमा राजनीतिक दलहरूले दलित समुदायसँग प्रतिबद्धता जनाए पनि समानुपातिक कोटामा मधेसी दलित समुदायको प्रतिनिधित्व अत्यन्त न्यून रहेको जनाएको छ। हालै सम्पन्न आम निर्वाचनपछि पनि सो समुदायको अपेक्षा अनुरूप समावेशी प्रतिनिधित्व सुनिश्चित नभएकोप्रति असन्तुष्टि व्यक्त गरिएको छ।
ध्यानाकर्षण पत्रमार्फत मधेस–तराईका दलित समुदायलाई जनसंख्याको आधारमा समानुपातिक समावेशी कोटामा प्रतिनिधित्व गराउन आवश्यक पहल गर्न निर्वाचन आयोगलाई आग्रह गरिएको छ। साथै, संविधानको मर्म र भावनाअनुसार समावेशी व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभए आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिइएको छ।
चमार कल्याण समाज नेपालले राज्यको मूलधारमा पिछडिएका तथा उत्पीडित समुदायलाई समावेश गर्नु लोकतन्त्रको सुदृढीकरणका लागि अपरिहार्य रहेको उल्लेख गर्दै सरोकारवाला निकायलाई गम्भीर ध्यान दिन आग्रह गरेको छ।