‘दण्डहीनता अन्त्य गर’: किशोरी हत्या प्रकरणमा सरोकारवालाको चेतावनी

0 Shares

सुरुङ्गा सम्बाददाता, कडरबोना
सप्तरी। सप्तरीको सुरुङ्गा नगरपालिका–९ हरिपुरमा १७ वर्षीया किशोरी पूजा कुमारी राममाथि बलात्कारपछि हत्या गरिएको घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरिएको छ।

प्रदेश बाल सञ्जाल, जिल्ला बाल सञ्जाल सप्तरी, बालअधिकारकर्मी तथा विभिन्न सरोकारवालाले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले उक्त घटनाले समाजलाई गम्भीर रूपमा स्तब्ध बनाएको उल्लेख गर्दै पीडित परिवारले हालसम्म न्यायको अनुभूति गर्न नसकेको बताएका छन्।
ज्ञापनपत्रमा पछिल्लो समय देशका विभिन्न जिल्लामा बालिका तथा किशोरीमाथि यौन हिंसा, बलात्कार, हत्या र शोषणका घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ। सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारपछि हत्या भएको घटनासमेत उल्लेख गर्दै यस्ता घटनाले बालबालिकाको जीवन, सुरक्षा र संरक्षणको अधिकारमाथि गम्भीर चुनौती खडा गरेको जनाइएको छ।
सरोकारवालाहरूले घटनाको सत्यतथ्य शीघ्र सार्वजनिक गर्न, अनुसन्धान प्रक्रियालाई तीव्र र प्रभावकारी बनाउन तथा संलग्न दोषीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्। साथै, पीडित परिवारलाई आवश्यक कानुनी सहयोग र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा अनुसन्धान र न्यायिक प्रक्रियामा परिवारको सम्मान र गोपनीयता सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।
बालिका तथा किशोरीमाथि हुने यौन हिंसा र हत्या जस्ता अमानवीय अपराध समाजका लागि अस्वीकार्य रहेको उल्लेख गर्दै यस्ता अपराधमा दण्डहीनता अन्त्य गर्न राज्यका सम्बन्धित निकायले प्रभावकारी रूपमा कानुन कार्यान्वयन गर्नुपर्ने उनीहरूको जोड छ।
सरोकारवालाहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउन प्रशासनसँग पुनः आग्रह गरेका छन्।

सम्बन्धित समाचार

सबै