राजधानी काठमाडौंमा तीन दलका नेताहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे महत्वपूर्ण छलफल सम्पन्न

0 Shares

सुरुङ्गा सम्बाददाता

काठमाडौं। राजधानी काठमाडौंमा तीन दलका नेताहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

 

राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, नेपाल जन जागृति पार्टीका राष्ट्रिय अध्यक्ष धुपलाल प्रसाद सहनी निषाद, र बहुजन एकता पार्टी नेपालका केन्द्रीय सचिव जितेन्द्र रामबीच भएको यो भेटघाट वर्तमान सत्ता संरचना, समावेशिता र उत्पीडित समुदायको राजनीतिक अधिकारका विषयमा केन्द्रित रहेको स्रोतहरूले जनाएका छन्।

 

बैठकमा दलित, आदिवासी जनजाति, पिछडा वर्ग, मुस्लिम, मधेसी, अल्पसंख्यक तथा दीर्घकालीन रूपमा राज्यबाट वञ्चित र उत्पीडित समुदायहरूको पूर्ण समानुपातिक सहभागिता सुनिश्चित गर्न अब ढिलो नगरी ठोस र व्यावहारिक कदम चालिनुपर्ने निष्कर्ष निकालिएको छ।

 

नेताहरूले इतिहासभरि उपेक्षित क्षेत्रमा परेको सामाजिक, आर्थिक र राजनीतिक अन्यायको अन्त्य गरी नयाँ वैकल्पिक राजनीतिक ध्रुवीकरण जन्माउनु आवश्यक रहेको बताएका छन्। उनीहरूले सबै उत्पीडित समुदायलाई एउटै मोर्चामा ल्याउन सकिने सम्भावनाबारे पनि खुलेर चर्चा गरेका थिए।

 

बैठकमा सहभागी नेताहरूले आगामी राजनीतिक व्यवस्थामा अधिकार, अवसर र प्रतिनिधित्व बराबरी ढंगले प्राप्त नहुने हो भने लोकतन्त्र कमजोर हुने चिन्ता व्यक्त गर्दै, आगामी दिनहरूमा पनि निरन्तर रूपमा साझा एजेन्डा बनाउने र सहकार्यलाई संस्थागत गर्ने प्रतिबद्धता जनाएका छन्।

 

समसामयिक राजनीतिक उथलपुथलबीच सम्पन्न यो तीन दलको संयुक्त छलफललाई देशको वैकल्पिक राजनीति तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

सबै