सुरुङ्गा सम्बाददाता
जनकपुर, कात्तिक २९ – बहुजन समुदायको राजनीतिक सशक्तिकरणलाई मधेसमै बाटो दिखाउने उद्देश्यका साथ बहुजन एकता पार्टी नेपालले जनकपुर–१४ मुजेलियामा आफ्नो मधेस प्रदेश जनसम्पर्क कार्यालयको उद्घाटन गरेको छ।
उद्घाटन समारोहका प्रमुख अतिथि तथा उद्घाटनकर्ता पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रंजनले कार्यालय स्थापनाले मधेसमा बहुजन आन्दोलनलाई थप गति र दिशा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले मधेसका दलित, पिछडावर्ग, किसान र सर्वसाधारणका आवाजलाई संगठित रूपमा उठाउन यो कार्यालय “मधेसको केन्द्रिय संचार–सहयोग कक्ष”को रूपमा कार्य गर्ने बताएका थिए।
कार्यक्रममा विशेष सम्बोधन वरिष्ठ नेता राजाराम पासवानले गरे। उनले मधेसमा बहुजन समुदायले भोग्दै आएको सामाजिक, आर्थिक र राजनीतिक बहिष्करणको अन्त्यका लागि पार्टीले वैकल्पिक शक्ति निर्माणमा ध्यान केन्द्रित गरिरहेको बताए।
कार्यक्रममा महासचिव सुरज महरा, प्रकाश मेहरा, बृहद्रथ कुश्वाहा, केन्द्रिय कोषाध्यक्ष लक्ष्मी मण्डल, सचिव यशोदा तिम्ल्सिना, केन्द्रिय सदस्यहरू बुधनी देवी, उदय सहनी र सकुर भाटको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी बरहथवा नगरपालिका–१० की वडा अध्यक्ष तथा मधेसकी चर्चित महिला अधिकारकर्मी सर्मिला कुमारी रामको सहभागीले कार्यक्रमलाई थप विशेष बनायो।
कार्यक्रममा रामेश्वर महरा, बैधनाथ पासवान, शत्रुघन महरा सहितका आमन्त्रीत अतिथिहरूको उपस्थिति पनि उल्लेखनीय रह्यो।
उद्घाटन समारोहमा नेतृत्वले निकट भविष्यमा मधेसमा व्यापक जनसम्पर्क अभियान, संगठन विस्तार तथा बहुजन समुदायका हक–अधिकारका मुद्दालाई सबलरूपमा उठाउने घोषणा गरेको छ।
यससँगै बहुजन एकता पार्टी नेपालको मधेसमा संरचनागत विस्तारले पार्टी गतिविधि थप सशक्त बन्दै जाने अनुमान गरिएको छ।