सुरुङ्गा सम्बाददाता १४ कार्तिक
सप्तरीको सुरुङ्गा नगरका युवाहरूले स्थानीय विकास, वातावरण संरक्षण र सुशासनका माग समेटिएको ३० बुँदे ज्ञापनपत्र शुक्रबार नगरप्रमुखलाई बुझाएका छन्।
‘Surunga Youth’ र ‘Gen-Z सुरुङ्गा’ समूहका युवाहरूले नगरमा बढ्दो अव्यवस्थित योजना, नदी–खोला अतिक्रमण, फोहोर व्यवस्थापनको समस्या र बढ्दो बेरोजगारीप्रति ध्यानाकर्षण गराउँदै तत्काल सुधारका लागि नगरपालिकालाई आग्रह गरेका छन्।

युवाहरूको भनाइमा, जनताको विश्वास जितेर सत्तामा पुगेको नगर नेतृत्वले जनजीवनमा ठोस सुधार ल्याउन नसकेको र योजनाहरूमा पारदर्शिता नदेखिएको कारण उनीहरू सडकमा आउन बाध्य भएका हुन्। उनीहरूले जनताको आवाजलाई बेवास्ता नगरी तुरुन्तै व्यवहारिक कदम चाल्न नगर प्रमुखसँग माग गरेका छन्।
स्थानीय बासिन्दाहरूले युवाहरूको यो कदमलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले पारदर्शी, जवाफदेही र दीगो विकासमा केन्द्रित नेतृत्वको आवश्यकता रहेको बताएका छन्।