राधेश्याम राम , १२ कात्तिक
सुरुङ्गा खबर,सप्तरी। अत्यन्त पछाडि परेको र दलित समुदायको जनघनत्व बढी रहेको सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा विद्यालयहरूको भौतिक तथा वातावरणीय अवस्था सुधार भएपछि विद्यार्थीहरूको नियमित उपस्थितीदरमा उल्लेखनीय वृद्धि भएको छ।

शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार, विद्यालयहरूमा बालविकास केन्द्रदेखि कक्षा ३ सम्मका कक्षामा भुइँ बसाइ व्यवस्थापन, कक्षा कोठाभित्र खेल्दै सिक्ने वातावरण, र आवश्यक शिक्षण सामग्री उपलब्ध गराएपछि विद्यार्थीको भर्ना दर र नियमित उपस्थितीमा उल्लेखनीय सुधार देखिएको छ।
शाखा अधिकृत हिरालाल रानाका अनुसार, सुरुङ्गा नगरपालिका, मधुपट्टी (सप्तरी) अन्तर्गत हाल ३१ वटा सामुदायिक विद्यालय र ३६ वटा बालविकास केन्द्र सञ्चालनमा छन्। तीमध्ये २७ वटा विद्यालय र ३३ वटा बालविकास केन्द्रको अवस्था सुधार गरी नमुना विद्यालयको रूपमा विकास गरिएको छ। उनका अनुसार अहिले अभिभावकहरू निजी विद्यालयबाट आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराइरहेका छन् र विद्यालयको नियमित अनुगमन गर्दै सुधारका काममा सहयोग पुर्याइरहेका छन्। नगरपालिकाले प्रकाशित गरेको प्रगति प्रतिवेदनअनुसार हाल विद्यार्थीहरूको नियमित उपस्थितीदर ९७.३ प्रतिशत पुगेको छ।
नगर प्रमुख गीता चौधरीका अनुसार, नगरपालिकाले बालविकास केन्द्र, सामुदायिक विद्यालय, बालक्लब, स्वास्थ्य संस्था, खुद्रा व्यवसायी, कृषक र कृषि क्षेत्रको सुदृढीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। उनका अनुसार, शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि र भौतिक पूर्वाधार सुधारका कार्यहरूमा सेभ द चिल्ड्रेनको सहयोगमा स्थानीय गैरसरकारी संस्था सबल नेपाल, राजविराजले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। उनले थपिन्, “केही विद्यालयमा अझ सुधार आवश्यक देखिएको छ, र हामीले त्यसलाई आगामी नीतिगत कार्यक्रममा समावेश गरिसकेका छौं। नगरपालिका गुणस्तरीय र प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गर्न प्रतिबद्ध छ।”
सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ४ का अध्यक्ष देवेन्द्र प्रसाद चौधरीका अनुसार, सबल नेपालले नगरभित्रका ३१ विद्यालयमध्ये जीर्ण अवस्थामा रहेका ११ विद्यालयमा मापदण्डअनुसार नयाँ बालविकास केन्द्र भवन निर्माण गरेको छ। साथै, विद्यालयहरूको कक्षा कोठा र शौचालय मर्मतसम्भार, रंगरोगन, कक्षामा कार्पेट र पीपी फोमसहित बसाइ व्यवस्थापन, र अन्य भौतिक सुधारका कार्यहरू सम्पन्न गरेको छ।
त्यसैगरी, बालविकास शिक्षक तथा कक्षा १ देखि ५ सम्मका शिक्षकलाई शिक्षण सामग्री निर्माण र प्रयोग सम्बन्धी सीपमूलक तालिम, विद्यालयका शिक्षक, प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीलाई जिम्मेवारी, कार्यबोध र नेतृत्व विकास तालिम प्रदान गरिएको छ। उनका अनुसार, यस्ता गतिविधिले सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना दर र नियमित उपस्थितीदर दुवैमा निरन्तर वृद्धि भएको छ।
शिक्षा शाखाका स्रोत व्यक्ति भोगेन्द्र कुमारका अनुसार, हाल विद्यालयहरूमा सरकारले निर्धारण गरेको एकीकृत पाठ्यक्रम र दैनिक कार्यतालिकाअनुसार कक्षा सञ्चालन भइरहेको छ र सिकाइ दक्षता दर ८७.७ प्रतिशत पुगेको छ।
चालु शैक्षिक सत्र २०८२ मा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म कुल १२ हजार ३५३ विद्यार्थी अध्ययनरत छन्, जसमा ५,९३३ जना छात्र र ६,४२० जना छात्रा छन्।
सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपाल सप्तरीद्वारा सञ्चालित “समुन्नति कार्यक्रम” का फिल्ड म्यानेजर रोशन मण्डलका अनुसार, सबल नेपालले नेपाल सरकार र स्थानीय सरकारबीच शिक्षा, स्वास्थ्य, कृषि तथा महिला, बालबालिका र जेष्ठ नागरिकको क्षमता विकास गर्ने लक्ष्यअनुसार सहयोग गर्दै आएको छ।