जनचेतनाका विद्यार्थीद्वारा परिकारसहित शैक्षिक सामग्री प्रदर्शन

0 Shares

सुरुङ्गा खबर,कपिलवस्तु। शिवराज नगरपालिका–८ लक्ष्मणपुरस्थित श्री जनचेतना सामुदायिक माध्यमिक विद्यालयमा व्यावसायिक योजना कार्यान्वयन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत विद्यालयका विभिन्न समूहमा विभाजित विद्यार्थीहरूले आफ्ना सीप र सृजनात्मकता प्रस्तुत गर्दै विविध परिकारसहितका स्टलहरू सञ्चालन गरेका थिए। ती स्टलहरूमा पानीपुरी, मोमो, फिंगर चिप्स, चटपटे, चाउमिन, फलफूल, पकौडा, गोझिया, सोहिना, पापड, लस्सी, चिया, पपकोर्नजस्ता स्वादिष्ट तथा आकर्षक परिकारहरूको प्रदर्शनी गरिएको थियो।

कार्यक्रम अवलोकन गर्दै नगरप्रमुख श्री अजय थापाले विद्यालयमा यस्ता व्यवहारिक कार्यक्रमको आयोजना हुनु अत्यन्तै सकारात्मक पक्ष रहेको धारणा राख्नुभयो। आजका विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी जीवनोपयोगी सीप सिकाउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक देवानन्द ठाकुरले यस्ता कार्यक्रम विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा अत्यन्तै फलदायी हुने बताउनुभयो। यस्ता अभ्यासहरूले विद्यार्थीहरूमा आत्मविश्वास तथा प्रयोगात्मक ज्ञानको विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।

उक्त कार्यक्रममा वडा अध्यक्ष रिजवान खान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द कुमार शुक्ला, शिक्षक अभिभावक संघका अध्यक्ष उदयराज चौधरी, त्रिभुवन आदर्श मा.वि.का प्रधानाध्यापक अर्जुन लोहार, बाल ज्योति मा.वि.का प्रधानाध्यापक हेमराज पठाक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका सदस्यहरू, संस्थापक अध्यक्ष बासुदेव जमरकट्टेल, सतिस गुप्ता, निर्मला सुनार, बेदकुमारी पासीसहित विभिन्न अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

सबै