सुरुङ्गा खबर मलेशिया। उदयपुर जिल्लाको बेलका नगरपालिका–३ का ४४ वर्षीय डबुक दामीको मलेसियामा ड्युटीकै क्रममा असामयिक निधन भएको छ। मलेसियाको जोहोरबारुस्थित सनाइ क्षेत्रमा कार्यरत रहँदा अचानक अस्वस्थ भई ढलेपछि उनको ज्यान गएको हो।
नेपाल समय अनुसार राति करिब ९:३० बजे घटना घटेको बताइएको छ। दामी मलेसियाको एक निजी सुरक्षा कम्पनीमा सुरक्षागार्डका रूपमा कार्यरत थिए। वर्षौंदेखि विदेशमा श्रम गरेर परिवारको आर्थिक अवस्था मजबुत बनाउने प्रयासमा रहेका उनी घरका लागि जिम्मेवार व्यक्तिका रूपमा चिनिन्थे।
अचानक आएको निधनको खबरले उनको परिवार तथा गाउँमा शोकको वातावरण छाएको छ। घर खर्च मुख्य रूपमा दामीकै आम्दानीमा निर्भर रहेको बताइन्छ। घटनाको विस्तृत विवरण आउन बाँकी भए पनि उनी ड्युटीमै रहेका बेला बेहोस भई ढलेको र सोही अवस्थामा मृत्यु भएको स्रोतहरूले जनाएका छन्।
विदेशमा पसिना बगाउँदै आफ्ना परिवारका सपना पूरा गर्न लागिपरेका दामीको निधनले समुदायमा गहिरो पीडा छाएको छ। उनका परिवारजन र गाउँलेहरू शोकमा डुबेका छन्।