लहान नगरपालिकाले तीन वर्षको उपलब्धि सार्वजनिक गर्‍यो

0 Shares

शियाराम यादव,जेष्ठ -२४

सुरुङ्गा खबर। लहान नगरपालिकाले विगत तीन वर्षमा नगर क्षेत्रमा सम्पन्न गरेका विविध विकास, सेवा तथा सुधार कार्यक्रमहरू सार्वजनिक गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत नगर प्रमुख महेश चौधरीले नगरपालिकाको तर्फबाट सम्पन्न सामाजिक, शैक्षिक, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, खेलकुद तथा अन्य योजनाहरूको जानकारी दिएका हुन्।मेयर चौधरीका अनुसार सामाजिक न्याय तथा सेवा प्रवाह सुधारका लागि नागरिकता सिफारिस, जन्म, मृत्यु तथा विवाह दर्ता दस्तुर पूर्ण रूपमा मिनाहा गरिएको छ। मुसहर समुदायका लागि क्रियाखर्च, गरिब तथा अप्ठ्यारोमा परेकाहरूलाई दाहसंस्कार खर्च स्वरूप दाउरा सहयोगजस्ता कार्य निरन्तर जारी छन्।स्वास्थ्य सेवाको पहुँचलाई सुदृढ बनाउन २४ वटै वडामा गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्याकेज वितरण, निःशुल्क एम्बुलेन्स र बस सेवा, आँखा शिविर सञ्चालन, र स्वास्थ्य चौकी निर्माण जस्ता कार्य सम्पन्न गरिएका छन्।

शिक्षा क्षेत्रमा ‘एक कक्षा, एक शिक्षक’, ‘एक विद्यालय, एक कम्प्युटर’, पंखा, डेक्स बेन्च वितरण, भवन निर्माण, पुस्तकालय, विज्ञान प्रयोगशाला, बालमैत्री शौचालय निर्माण लगायतका कार्य उल्लेखनीय छन्।कृषि क्षेत्रमा धान, मकै, च्याउ, मुग दालको बीउ वितरण, किसानलाई अनुदानमा उपकरण उपलब्ध गराउने, पोखरी निर्माण, डिप बोरिङ जडान, कृषि विद्युत महसुल तिर्ने व्यवस्था तथा ब्राण्डिङ तथा प्याकेजिङ कार्यक्रम संचालन गरिएका छन्।भौतिक पूर्वाधार अन्तर्गत १३४ मुसहर परिवारलाई पक्की घर, ११ वटा वडा कार्यालय भवन, ४४ किमी पिसिसी, ६ किमी आरसीसी र ३२ किमी ग्राभेल सडक निर्माण, ७८५४ मिटर नाला निर्माण, १६६ वटा कक्षा कोठा, नगर अस्पताल, सपिङ्ग मल, मन्दिर, आर्यघाट, विश्राम भवन, ६४५ पोल ग्रामीण विद्युतीकरण, २४ ठाउँमा मन्दिर निर्माण लगायतका महत्वपूर्ण संरचनाहरू निर्माण भएका छन्।नगरको समग्र सौन्दर्य र जीवनस्तर सुधारका लागि कालोपत्रे सडक निर्माणका दर्जनौं खण्डहरू सम्पन्न वा प्रक्रियामा छन्।धार्मिक, सांस्कृतिक र खेलकुद क्षेत्रमा, तीज, जितिया, छठ जस्ता पर्वमा सहयोग, व्यापार महोत्सव, मेयर गोल्डकप फुटबल लगायत कार्यक्रम सञ्चालन गरिएको छ।यसबाहेक, वैदेशिक रोजगारबाट फर्किएकालाई स्वरोजगार, महिला उद्यमशिलता प्रवर्द्धन, सीपमूलक तालिम, छात्रवृत्ति, कृषकलाई उपकरण र तालिम, आगलागी तथा बाढी पीडितलाई राहत, जिम स्थापना जस्ता कार्यक्रमहरू सञ्चालन गरिएका छन्।मेयर चौधरीले भने, तीन वर्षमा नगरपालिकाले समाजका सबै वर्गलाई समेट्ने गरी काम गरेको छ, आगामी दिनमा अझ समावेशी र प्रभावकारी सेवा प्रवाहको प्रतिबद्धता लिएका छौं।

सम्बन्धित समाचार

सबै