जीवन कुमार राम बैशाख ३०
सुरुङ्गा खबर, सप्तरी। संयुक्त राजनीतिक दलित संघर्ष समिति सप्तरी र नेपाल राम समाज केन्द्रीय कार्यसमितिकाे संयुक्त अगुवाइमा आज प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला प्रसाद दहाललाई ५ बुँदे माग सहित ज्ञापनपत्र बुझाइएको छ। दलित समुदायमाथि भइरहेका अन्याय र विभेद विरुद्ध कानुनी न्याय सुनिश्चित गर्न ज्ञापनपत्र बुझाइएको हो।


प्रजिअ मार्फत प्रधानमन्त्री, मुख्यमन्त्री तथा गृह मन्त्रीलाई समेत सम्बोधन गरिएको उक्त ज्ञापनपत्रमा विशेषगरी हरिपुर, बनिगामा, बलान विहुल, राजगढ र कृष्णा सावरण गाउँपालिकामा भएका घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गरिएको छ।
ज्ञापनपत्र बुझेसँगै प्रमुख जिल्ला अधिकारी दहालले दलित समुदायमाथिको विभेदप्रति चिन्ता व्यक्त गर्दै वास्तविक दोषीलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गरिने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रममा संघर्ष समितिका जिल्ला अध्यक्ष भुवनेश्वर साफी, नेपाल राम समाजका केन्द्रीय अध्यक्ष प्रथम लाल राम, महासचिव राधेश्याम राम लगायत जिल्लाका विभिन्न स्थानका पीडितहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। पीडितहरुले आफूमाथि भएका घटनाहरुको विवरण दिँदै तत्काल न्यायका लागि गम्भीर कारबाहीको माग गरेका थिए।
संघर्ष समितिले निकट भविष्यमा अझ सशक्त आन्दोलनको चेतावनी समेत दिएको छ यदि न्याय प्रक्रिया ढिलाइ गरिएमा।